पोखरामा ‘लेक टु लेक’ साइकल ट्रयाकको गुरुयोजनाबारे छलफल

विकास साझेदार एसियाली विकास बैंकको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा ट्रयाकको निर्माण हुनेछ

जनसम्मत
कार्तिक २९, २०८१, बिहीवार

पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्नेगरी निर्माण गर्न लागिएको ‘लेक टु लेक’ साइकल ट्रयाकको गुरुयोजनाबारे छलफल गरिएको छ।

विकास साझेदार एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो।

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ कि.मी. लम्बाईको ‘लेक टु लेक’ जोड्ने साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘यसले संसारभरीका साइकलप्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ। पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ। पोखराको पर्यटन विकासमा यो महत्वपूर्ण कोषेढुंगा साबित हुनेछ।’

पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्रयाक मानवस्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उनले विश्वास व्यक्त गरे।

विकास साझेदार एसियाली विकास बैंकको करिब १ अरब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकले पोखरामा रहेका सबै तालहरूलाई एक–आपसमा जोड्नेछ।

पोखराको दिगो पर्यटन विकासअन्तरगत यो परियोजना संचालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको हो।

प्रारम्भिक चरणमा सुरु गरिएको यसमाथिको छलफलमा पोखरामा रहेका पर्यटनलगायत सरोकारवालाहरूको सहभागिता थियो।

पोखरामा रहेका तालहरूलाई एक–आपसमा (भित्र पर्नेगरी र तालहरू बाहिर पर्नेगरी) जोड्नेगरी इनर र आउटर २ वटा रुटहरूसहितको विभिन्न स्थानहरूमा कनेक्ट रुटहरूका समेत निर्माण गर्दा करिब ८५ कि.मी. लम्बाईको साइकल ट्रयाक निर्माण हुनेछ।