नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले काँग्रेसले आफ्नो सैद्धान्तिक विरासत छाडेको दाबी गरेका छन्।
प्रजातन्त्र सेनानी संघ लमजुङ शाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै शर्मा भने, ‘कम्युनिष्टहरूलाई शान्ति र लोकतान्त्रिक मार्गमा हिँडाउनेको नाउँमा काँग्रेसले सैद्धान्तिक विरासत छाडेको हो।’
शर्माले नेपाली काँग्रेसले मुलुकमा जनताको अधिकार स्थापित गर्न प्रजातन्त्र ल्याउनको लागि पटक–पटक आन्दोलन गरेको सुनाए।
तर, कम्युनिष्टहरूलाई राजनीतिको भूलधारमा ल्याउने नाउँमा नेपाली काँगे्रसले आफ्नो सैद्धान्तिक विरासत छाडेको जिकीर गरे।
उनले भने, ‘एमालेलाई लोकतान्त्रिक बनाउने र माओवादीलाई शान्तिको मार्गमा ल्याउने नाउँमा काँग्रेसले आफ्नो सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बिर्सिएको छ।’
उनले लोकतन्त्र र प्रजातन्त्रमा आकाश जमिनको फरक जिकिर गर्दै प्रजान्तत्रले मात्रै व्यक्ति–व्यक्तिलाई सम्मान दिने, व्यक्तिको क्षमता विकाससँगै जनतालाई सम्पन्न गराउने बताए।
उनले प्रजातन्त्रमा जात धर्मको कुरा समते नआउने उल्लेख गरे।
प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्रै रहेको उनको जिकिर थियो।
काँग्रेसका संस्थापक नेता वीपी कोइरालामात्र भएको र अरु सबै कार्यकर्ता हुन् भन्दै कार्यकर्ताले सिद्धान्त बदल्न नसक्ने उनको भनाई थियो।
उनले जोड दिए, ‘प्रजातान्त्रिक सेनानी संघले दिग्भ्रमित भएको काँग्रेसलाई ठीक ठाउँमा ल्याउने काम गर्नुपर्छ। हामी जस्ता कार्यकर्ताले सिद्धान्त फेर्न मिल्दैन।’
कार्यक्रममा केन्द्रीय प्रतिनिधि समुद्र गोदारले सेनानी संघ पार्टीको भातृ संस्था नभई दाई संस्था भएको टिप्पणी गरे।
‘संघ, पार्टीलाई सिद्धान्तअनुरुप हिँडाउन खबरदारीका साथ सचेत गर्ने संस्थासमेत हो। त्यसैले यसका पदाधिकारीहरूले त्यो भूमिका निभाउनु पर्छ’ प्रजातन्त्र सेनानी संघप्रति गोदारको टिप्पणी थियो।
बुद्धिजीवी एवं पूर्वसांसद रामचन्द्र पोखरलले हिँजोका दिनमा मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि तनहुँ र कास्कीमा रहेका पार्टीका साथीहरूबीच समन्वय गरी लमजुङको कुन्छा अड्डा कब्जा गर्न गोवद्र्धन पोखरेल, पेचबहादुर गुरुङ आएको सुनाए।
त्योसँगै दुराडाँडामा पश्चिम–३ नंबर क्षेत्रको काँग्रेसको राजनैतिक भेलाको अध्यक्षता रामप्रसाद खनालबाट भएको र त्यो भेलामा जमिन जोत्नेको हुने र विदेशमा राखिएको पैसा फिर्ता ल्याउने अभियानको थालनी भएको समेत पोखरेलले उल्लेख गरे।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री एवं लमजुङ काँग्रेस जिल्ला सभापति डा. टकराज गुरुङले पार्टीका अग्रज र हामी सवैको लागानी र बलिदानीले नेपालको संविधान २०७२ प्राप्त भएको स्पष्ट पारे।
महिला, दलित हरेक जाती जनजातिलगायत समाजभित्र रहेका हरेक वर्गलाई यस संविधानले समेटेको र यो संसारभरकै उत्कृष्ट व्यवस्था भएको दावी गरे।
यसैगरी, गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री तथा काँग्रेस लमजुङका निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेलेले पार्टीका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए।
उनले पार्टीमा होस या सरकारमा रहेका कुनैपनि व्यक्तिले अनिमियता गरेमा सोको विरुद्ध खवरदारी गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पूर्वमन्त्रीहरु डा. रामचन्द्र अधिकारी, दोवाटे विश्वकर्मा, जिल्ला समन्वय समिति एवं शान्ति समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रदेश सभासद पार्वती तामाङ, काँग्रेसका जिल्ला उपसभापति आनन्द घिमिरेलगायतले मन्तव्य राखेका थिए।