बालबालिका मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले विभिन्न १० विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ

जनसम्मत
कार्तिक ३०, २०८१, शुक्रबार

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताएका छन्।

कास्कीको माछापुच्छे–५, रिभानस्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले भने, ‘बालअधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको छ।’

संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको भट्टले बताए।

उनले असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार गर्न सकिने स्पष्ट पारे।

‘बालबालिकाको हातमा कुटो कोदालो होइन, कलम र किताब नै हुनु पर्दछ। यसका लागि परिवार, समाज, यस्ता संस्था र सिंगो राज्यको दायित्व रहनुपर्दछ’, प्रदेश प्रमुख भट्टले भने ‘हाम्रो दायित्व बालबालिकालाई विद्यालयमा लग्नु मात्र पनि होइन। सवै विद्यालयहरूलाई. बालबालिकाको इच्छाअनुसार उपयुक्त शिक्षाको व्यवस्थापन गर्न सक्ने बनाउनु पनि हो।’

उक्त समारोहमा प्रदेश प्रमुख भट्टले प्रतिष्ठानले २०५४ सालदेखि नै यहाँका विद्यालयहरूमा भौतिक संरचना निर्माण, पुस्तकालय स्थापना, छात्रवृत्ति प्रदान, प्रोजेक्टर, विज्ञान सामाग्री तथा कम्प्युटरलगायतका शैक्षिक सामाग्री सहयोग गरेर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएकोमा प्रशंसासमेत गरे।

प्रतिष्ठानले आज (शुक्रबार) विभिन्न १० विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको थियो।

आफ्नो गाउँठाउँमा शिक्षाको विकासका लागि प्रवासमै रहेर प्रतिष्ठानको परिकल्पना गरी जापानी विश्वविद्यालयका विद्यार्थीहरूको सहयोगमा यो संस्था सुरु गरिएको थाहा पाउँदा खुशी लागेको बताए।

उनले परिकल्पनाकार डा. राम गिरीको अभियानलाई लामो समयसम्म साथ दिएर गाउँमा शिक्षाको उज्यालो फैलाउने सबैजना धन्यवादका पात्र रहेको उल्लेख गरे।

डेढ दशक विभिन्न विद्यालयमा अध्यापन गराएर अहिलेसम्म पनि सुदूरका विभिन्न क्याम्पस तथा कलेजहरुलाई स्तरोन्नतिका लागि क्रियाशील रहेको भट्टले बताए।

शिक्षा क्षेत्रको विकासले नै मुलुकको समृद्धि संभव रहने उल्लेख गरे।