गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुदमन्त्री विन्दुकुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको औंल्याएका छन्।
पोखरा–१६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल हुँदैन। परम्परागत शिक्षाले सोंचेजस्तो उपलब्धी हासिल हुन सकेन। परिवर्तनको कडी नै शिक्षा हो। शिक्षाको माध्यमबाट नै समृद्धि प्राप्त हुन्छ। उत्पादन र रोजगारीसँग शिक्षालाई जोड्नुपर्छ। व्यवसायिक र सीपयुक्त शिक्षा आजको आवश्यकता हो।’
मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन केही नयाँ कार्यक्रम ल्याएको जानकारी गराए।
उनले ‘अभिभावक शिक्षा’, ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’, ‘फ्राइडे फर फ्युचर’ लगायतका कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने दाबी गरे।
विन्ध्यवासिनी क्याम्पसलाई प्रभावकारी बनाउन गुणस्तरीय शिक्षामा ध्यान दिन उनले आग्रह गरेका छन्।
क्याम्पसमा देखिएको हर किसिमको समस्या समाधानमा आफू पदमा रहेपनि, नरहेपनि सदैव साथमा रहेको उनको भनाई छ।
प्रदेश सरकारले सामुदायिक क्याम्पसका लागि वार्षिक रुपमा नै अनुदान उपलब्ध गराउँदै आएको उनले बताए।
क्याम्पसको पुस्तकालयको स्तरोन्नतिमा प्रदेश सरकार सकरात्मक रहेको उनको भनाई छ।
कार्यक्रममा पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले विन्ध्यवासिनी क्याम्पसको भवन बन्नुपर्छ भन्ने विषयमा सकरात्मक हुन आग्रह गरेका छन्।
विद्यमान कानूनका कारण क्याम्पसको भवनको कामले गति पाउन नसकेको र उक्त समस्याको समाधानमा नै वडाले काम गरिरहेको भनाई उनको छ।
क्याम्पसका सिनेटर रामबहादुर बानियाँले भारतीय राजदूतावासबाट क्याम्पसका लागि छुट्टाइएको रकम गुम्न दिन नहुने उल्लेख गरे।
क्याम्पसको गतिविधिबारे क्याम्पस प्रमुख सुमनकेशव पराजुलीले जानकारी गराए।
कार्यक्रममा विजय शर्माले स्वागत गरेका थिए।
क्याम्पसले उत्तीर्ण विद्यार्थीलाई सम्मानसमेत गरेको थियो।