लाखौं प्रयोगकर्ताहरुले एलन मस्कको ‘एक्स’ छाड्दै

पछिल्लो समय मक्सको एक्स छाडेर ज्याक डोर्सीको ब्लूस्काईमा २५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन्

जनसम्मत
मंसिर १, २०८१, शनिबार

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि लाखौं प्रयोगकर्ता एलन मस्कको सामाजिक सञ्जाल एक्स छाडेर डोर्सीको सामाजिक सञ्जाल ब्लूस्काईमा आएका छन्।

ट्रम्प निर्वाचित भएपछि साविक ट्वीटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी (सीईओ) ज्याक डोर्सीलाई समेत फाइदा पुगेको हो।

समाचार संस्था रोयटर्सअनुसार पछिल्लो सातामा मात्रै ब्लूस्काईमा २५ लाख नयाँ प्रयोगकर्ता थपिएका छन्।

यससँगै प्लेटफर्ममा १ करोड ६० लाख प्रयोगकर्ता पुगेका छन्।

एक्सको विकल्पको रूपमा ती प्रयोगकर्ताहरू ब्लूस्काईमा आएको विश्लेषण गरिएको छ।

ब्लूस्काईमा यसरी प्रयोगकर्ता थपिनुमा चर्चित संस्था तथा व्यक्तिहरूले एक्स छाड्ने घोषणा गर्नु पनि हो।

हालैमात्र गैरनाफामूलक संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेट, बेलायती समाचार संस्था द गार्डियन र समाचार संस्था सीएनएनका प्रस्तोता डन लेमनले एक्स छाड्ने घोषणा गरेका छन्।

६ नोभेम्बरमा राष्ट्रपतिमा ट्रम्प विजयी हुँदा अमेरिकामा एक्सको ट्राफिक ४ करोड ६५ लाख बढी पुगेको थियो।

जुन यो वर्षकै सबैभन्दा धेरै हो।

तर, त्यही दिन अमेरिकाका १ लाख १५ हजार बढी प्रयोगकर्ताले एक्स एकाउन्ट डिएक्टिभेट गरेका थिए।

त्यस्तै, सोही दिन ब्लूस्काईले १२ लाख बढी ट्राफिक पाएको थियो।

अमेरिकी निर्वाचनपछि ब्लूस्काईमा प्रयोगकर्ता बढ्नुको अर्को कारण एक्सको सेवाका शर्त परिवर्तन हुनुलाई पनि मानिएको छ।

नयाँ शर्तअनुसार एक्ससँग सम्बन्धित सबै कानूनी मुद्दा टेक्सासको उत्तरी जिल्ला अदालत वा टारन्ट काउन्टीको अदालतमा मात्र दायर हुनेछ।

यसले मस्क पक्षधर न्यायाधीशहरूले मुद्दा एक्सको पक्षमा दिने भन्दै प्रयोगकर्ताले एक्स छाडेको विश्लेषण गरिएको छ।

मिडिया र सामाजिक सञ्जालहरुमा समाचार छ।