विश्वप्रकाश लामिछाने, नेकपा (माओवादी केन्द्र) कास्कीको संयोजक

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यालयका अनुसार लामिछानेलाई कास्कीको रिक्त संयोजक पदमा चयन गरेको जनाइएको छ

जनसम्मत
मंसिर १, २०८१, शनिबार

विश्वप्रकाश लामिछाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्की जिल्लाको संयोजक बनेका छन्।

माओवादी केन्द्र गण्डकी प्रदेश कार्यालयको बैठकले कास्की जिल्लाको रिक्त संयोजक पदमा लामिछानेलाई जिम्मेवारी दिइएको हो।

पार्टीको प्रदेश कार्यालयका अनुसार लामिछानेलाई कास्कीको संयोजक चयन गरेको जनाइएको छ।

पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज दीननाथ शर्माको प्रमुख आतिथ्यतामा प्रदेश पदाधिकारी र ११ वटै जिल्लाका इञ्चार्जसहितको प्रदेश कार्यालयको बैठक बसेको हो।

जिल्ला संयोजकको जिम्मेवारी पाएका लामिछानेले विसं २०३८ मा विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए।

विसं २०४० मा लामिछाने तत्कालीन नेकपा (मोटो मसाल) को कास्की जिल्ला सदस्य थिए।

लामिछाने, पत्रकारिता र मानवअधिकारको क्षेत्रमा समेत क्रियाशील थिए।

विसं २०६३ मा पोखरा उपत्यका नगरविकास समितिको अध्यक्ष नियुक्त भएका थिए।

यसैगरी, विसं २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा लामिछानेलाई सरकारले फेवाताल उच्चस्तरीय आयोगको अध्यक्षमा नियुक्त गरेको थियो।

लामिछाने हाल नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सचिवालय सदस्य समेत छन्।

संयोजक लामिछानेले पार्टीलाई एकढिक्का बनाएर जिल्लामा पार्टी संगठन विस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाए।

लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि अबको मुख्य कार्यभार समाजवादी क्रान्ति रहेकाले सोही लक्ष्य प्राप्तिका लागि लागिपर्ने लामिछानेको प्रतिबद्धता छ।

यसैगरी, माओवादीले गण्डकी प्रदेशका सबै स्थानीय तहहरुमा पार्टी केन्द्रको निर्णयानुसार यही मंसीर महिनाभित्रमा सम्मेलन सम्पन्न गर्ने र सबै पालिकाका केन्द्रमा खबरदारी सभा गर्ने निर्णय समेत गरेको कास्की जिल्ला इञ्चार्ज रामजीप्रसाद बराल ‘जीवन’ ले जानकारी दिएका छन्।