गण्डकी प्रदेशसभा सदस्य स्व. विमला गौचनप्रति अन्तिम श्रद्धाञ्जली

परिवारजनका अनुसार स्व. गौचनको पार्थिव शरीर आज (शनिबार) नै म्याग्दी लगेर अन्तिम संस्कार गरिनेछ

जनसम्मत
मंसिर १, २०८१, शनिबार

गण्डकी प्रदेशसभा सदस्य स्व. विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज (शनिबार) अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उपसभामुख विनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिएको गौचनको प्रार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

शनिबार विहान ७ः३० बजेदेखी श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरिर प्रदेशसभामा ल्याइएको थियो।

त्यसैगरी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।

त्यस्तै, थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको थियो।

स्व गौचनप्रति गण्डकी प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे।

मुस्ताङको कोबाङमा विसं २०१८ असार १८ गते जन्मिएकी गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएका छन्।

स्व गौचनको गत कार्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो।

स्व. गौचन नेपाली काँग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसद थिइन्।

उनी संसदको अर्थ तथा विकास समितिको सदस्यसमेत थिइन्।

स्व. गौचन राजनीतिसँगसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय थिइन्।

स्व. गौचनको पार्थिव शरीर आजनै म्याग्दी लगेर अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ।

स्व गौचनका एक छोरा र एक छोरी छन्।