बेलायती अखबार ‘द गार्जियन’ले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै कुरा पोस्ट नगर्ने भएको छ।
गार्जियनले ‘एक्स’मा नकारात्मकता धेरै भएको उसले बताएको छ।
अबदेखि आफ्नो आधिकारिक एकाउन्ट ‘एक्स’मा कुनै समाचार पोस्ट नगर्ने बताएको हो।
‘गार्जियन’ले भनेको छ, ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट ‘एक्स’ मा पोस्ट गर्न बन्द गरेका छौँ। तर, ‘एक्स’ प्रयोगकर्ताले हाम्रा रिपोर्ट सेयर गर्न सक्छन्।
यसको कारण बताउँदै ‘द गार्जियन’ले लेखेको छ, ‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नकारात्मकता छ। हामी हाम्रो पत्रकारितालाई थप प्रवद्र्धन गर्न स्रोतहरू राम्रोसँग प्रयोग गर्न सक्छौं।’
अखबारले लामो समयदेखि यसबारे सोंचिरहेको बताउँदै प्रायः ‘एक्स’ मा विचलित पार्ने सामग्री पाइने बताएको छ।
यसमा अति दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश रहेको ‘गार्जियन’ले उल्लेख गरेको छ।
‘द गार्जियन’ले भनेको छ, ‘अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि ‘एक्स’ एक ‘विषाक्त’ प्लेटफर्म हो। यसका मालिक इलोन मस्कले राजनीतिक वातावरण प्रभावित पार्न प्रयोग गर्न सक्छन्।’
यद्यपि, ‘एक्स’ प्रयोगकर्ताले ‘गार्जियन’का लेखहरू साझा गर्न भने सक्नेछन्।
यसबाहेक यो पत्रिकाले आफ्ना रिपोर्टरहरूले समाचार संकलन गर्न ‘एक्स’ प्रयोग गर्न सक्ने बताएको छ।