स्टार स्पोर्ट्स टिभी च्यानलबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको छ।
खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय टिभी च्यानल स्टार स्पोर्ट्सबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसीर १५ गतेदेखि पुषको ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने विषयमा नेपाल क्रिकेट संघ र स्टार स्पोर्ट्स टिभी च्यानलबीच सम्झौता भएको हो।
पत्रकार सम्मेलनमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण खेलकुद सम्वन्धी अन्तर्राष्ट्रिय टिभी च्यानल स्टार स्पोर्ट्सले गर्ने भएको जनाइएको हो।
एनपीएलका प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण गर्ने सम्वन्धमा क्यान र स्टार स्पोर्ट्सबीच सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्।
एनपीएलको प्रत्यक्ष प्रसारणबारे जानकारी दिन आज (शनिबार) क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव खड्काले स्टार स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरिएको जानकारी दिए।
सचिव खड्काले एनपीएलको मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक रहने पनि जानकारी दिएका छन्।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको क्रिकेट लिग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिता आयोजनाका लागि त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन काम भइरहेको पनि (क्यान) ले जनाएको छ।
प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।
सहभागी प्रत्येक टोलीले ४ जनासम्म विदेशी खेलाडी अनुवन्ध गराउन पाउने नियम छ।
जसअनुसार (एनपीएल) टोलीहरुले धमाधम विदेशी क्रिकेटरहरुलाई समावेश गराउने कार्यमा तिब्रता दिएका छन्।