पछिल्लो समय पोखरामा सुरक्षाकर्मी र आन्दोलनरत् पक्षबाट पत्रकार तथा संचारकर्मीहरु निशानामा पर्दै गएको घटनाप्रति पत्रकार महासंघको प्रदेश तथा जिल्ला घटकलगायत सम्बद्ध संघ, संगठनले आपत्ति जनाएको छ।
आन्दोलनरत् पक्ष र सुरक्षाकर्मीबाटै पत्रकारमाथि असुरक्षा र संचार सामग्रीको तोडफोडको घटनालाई लिएर पत्रकार सम्बद्ध संघ, संगठनले आपत्ति जनाएको हो।
पत्रकार, संचारकर्मीमाथि असुरक्षा बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रतासम्बद्ध संघ, संगठनले सरोकारवालासमक्ष ध्यानाकर्षणसमेत गराएको छ।
नेपाल पत्रकार महासंघ, गण्डकीको महासचिव गोविन्द सुवेदीको नेतृत्वमा सोमबार गएको टोलीले जिल्ला प्रशासन र प्रहरी प्रशासनसमक्ष ध्यानाकर्षण गराएका हुन्।
कास्की जिल्ला प्रशासन प्रमुख भरतमणि पाण्डे र कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियासमक्ष टोलीले ध्यानाकर्षण गराएको हो।
हालैमात्र, गत शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कास्कीमा ल्याउँदै गर्दा समाचार रिपोर्टिङ र फोटो/भिडियो खिच्ने क्रममा पोखराका क्रियाशील पत्रकार जनसंचार डट कमका सम्पादक ओम हमाल र समय नेपाल डट कममा कार्यरत सन्देश बरालमाथि सुरक्षाकर्मीबाट पत्रकारमाथिको भएको असभ्य, अपमानित व्यवहारले चिन्ता समेत व्यक्त गरेको छ।
निर्वाध रुपमा समाचार रिपोर्टिङ र फोटो/भिडियो खिच्ने कार्यमा रोक लगाउँदै पत्रकार र संचारकर्मीमाथि सुरक्षाकर्मीबाट गरिएको हेलाहोंचोप्रति विज्ञप्तिमार्फत भत्र्सना गरिएको छ।
पत्रकार महासंघ गण्डकी प्रदेश समिति, पत्रकार महासंघ कास्की शाखा, प्रेस चौतारी कास्की र प्रेस सेन्टर नेपाल कास्कीले फरक–फरक प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
स्वतन्त्र रुपमा विना अवरोध समाचार संकलन, प्रशारण र प्रकाशन गर्ने अधिकारको व्यवहारिक रुपमै ग्यारेन्टी गर्न, सुरक्षित महसुस गर्ने वातावरण बनाउन विज्ञप्तिमार्फत मागसमेत गरेको छ।
‘समग्र सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीको जिम्मेवार प्रहरी अधिकृतबाटै संचारकर्ममा खटिएका पत्रकारमाथि बारम्बार यस्ता घटनाहरु दोहोरिएका छन्। यसभन्दा अघिका विभिन्न राजनीतिक दल, तिनिहरुका भातृ संस्थाका साथै विभिन्न संघसंस्थाहरुले गर्ने आन्दोलनमा समेत आन्दोलनरत् पक्ष र सुरक्षाकर्मीबाट पत्रकार र संचारकर्मी निरन्तर निशानामा पर्दै आएको दृष्टान्तले निष्पक्ष रुपमा संचारकर्म गर्नेहरु नै असुरक्षित रहेको उजागर भएको छ। संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक वर्तमान व्यवस्थामा समेत स्वतन्त्र प्रेस र पत्रकारमाथि हुने यस प्रकारको असुरक्षाले आम सर्वसाधारणको अवस्था के होला ? भन्ने प्रश्न समेत उब्जिएको छ’, प्रेस विज्ञप्तिमा भनिएको छ।
यसअघि, कार्तिक ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका आन्दोलनरत् कार्यकर्ताबाट पोखराका क्रियाशील पत्रकारहरु सागरराज तिमिल्सिना, अर्जुन गाहामगर (शुशान्त) माथि शारिरीक आक्रमण गरिएको थियो।
सोही दिन क्रियाशील पत्रकारहरु चन्द्रिका घिमिरे ‘अनिता’, निरज तामाङ र क्यामेरापर्सन अर्जुन भण्डारीमाथि रास्वपाका आन्दोलनरत् कार्यकर्ताहरुबाट दुव्र्यवहार गरिएको थियो।
त्यसैगरी, २० कार्तिकमा पोखरास्थित वाइचोकमा पत्रकारहरु इन्द्र पौडेल, विनोद लामिछाने क्यामेरापर्सन राजकुमार माझीमाथि प्रहरीबाटै कुटपिट र संचारसामग्रीमाथि तोडफोडलगायतका अपमानजनक व्यवहार भएको थियो।