पोखराका क्रिकेटरहरु रचना चौधरी र दिपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ।
पोखरा महानगर क्रिकेट संघले एक समारोहबीच २ खेलाडीको सम्मान गरेको हो।
१९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई उनीहरूले पोखराको क्रिकेट विकासमा गरेको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे।
सो अवसरमा बोल्दै अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताए।
उनीहरुले नै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको शान उँचो पार्ने औल्याए।
पोखरा महानगर क्रिकेट समितिको सहयोगमा महानगर क्रिकेट संघले आयोजना गरेको क्रिकेटको ग्रासरुट कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
पोखराको क्रिकेट विकासमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी दिपेश खत्रीको योगदान अतुलनीय रहेको गोदारले बताए।
उनको अनुभव पोखराको क्रिकेट विकासमा लगाउनुपर्ने गोदारको भनाई थियो।
पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बीरेन्द्र पुनले क्रिकेटमा नवप्रतिभाशाली खेलाडी खोज्नका लागि ग्रासरुट कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा क्रिकेटर दिपेश खत्री, संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक गोविन्द प्रधान, दृश्यम मिडियाका सम्पादक विनोद लामिछानेलगायतले बोलेका थिए।