व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउँछ

मन्त्री थापा भन्छन्, ‘व्यवसायिक सीप, रोजगारी र आत्मनिर्भरतातर्फको कदम हो’

जनसम्मत
मंसिर ३, २०८१, सोमबार

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताएका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री थापाले भने, ‘व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरतातर्फको कदम हो।’

उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव समेत दिए।

‘आत्मनिर्भर जीवनशैलीको लागि सीपको आवश्यकता छ। दक्ष जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले सोहि बमोजिम लगानी गरिरहेको छ’, मन्त्री थापाको भनाई छ।

मन्त्री थापाले काम गरेर कोहीपनि सानो नहुने र श्रमका लागि सीपको आवश्यकता पर्ने औंल्याए।

सीप सिकेर नेपालमा नै स्वरोजगारी बन्ने बाटोमा अग्रसर रहन उनको अनुरोध छ।

‘सीप सिकेर युवाहरु विदेश पलायन भएको समस्या समाजमा व्याप्त छ, त्यस्तो हुनु भएन। सरकारले विदेश पठाउनका लागि सीप सिकाएको होइन। स्वदेशमा नै उद्यमशील र स्वरोजगारी बन्ने बाटोमा अग्रसर हुनुपर्छ’, उनले भने।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले सीप सिकेर नै समाजमा भएको निराशाजनक विषयको अन्त्य हुने दाबी गरे।

तालिमले रोजगारीको अवसर सिर्जना गर्ने हुँदा यसको फाइदा उठाउन सहभागीलाई उनको सुझाव छ।

मन्त्रालयले आवश्यकताअनुसारको तालिम आगामी दिनमा पनि उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका प्रमुख लक्ष्मीभद्र वाग्लेले प्लम्बिङ, आधारभूत केश श्रृंगार, विद्युत जडान, आधारभूत सिलाई–कटाई, कपाल काट्ने (सैलुन), फेसन डिजाइनर, मन्टेश्वरी, मोबाइल मर्मत र आधारभूत कम्युटर गरी ९ वटा विषयवस्तुमा तालिम दिइने उनले जानकारी गराए।

उनका अनुसार तालिमका लागि प्रदेशभरबाट ४ सय जनाको आवेदन परेको र १ सय ९९ जना छनोट गरिएको छ।

स्वरोजगार स्थापना र उद्यमशीलताको विकासका लागि आयोजना गरिएको तालिम प्रभावकारी हुनेमा उनी आशावादी छन्।

आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक विकासबमोजिम ३ महिने र छोटो अवधिको गरी कूल ३७ वटा कार्यक्रम तय भएको जानकारी उनले गराए।
कार्यक्रममा प्रशिक्षकको तर्फबाट कृष्णप्रसाद थापा र सिता वाग्लेले आफ्नो धारणा राखेका थिए।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा सोमबारबाट आयोजना गरेको ३ महिने सीपमुलक तालिमको उद्घाटन प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गरेका हुन्।