९ सामाजिक सञ्जालहरु (युट्युब/फेसबुक पेज) कारवाहीमा

प्रेस काउन्सिल नेपाल भन्छ, ‘अभिव्यक्ति स्वतन्त्रता भनेको स्वच्छन्दता कदापी होइन’

जनसम्मत
मंसिर ४, २०८१, मंगलवार

गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानलहरु प्रेस काउन्सिल नेपालको कारवाहीमा परेका छन्।

तीमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा काउन्सिलले पत्राचारसमेत गरेको छ।

सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल) मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ।

पछिल्लो समयमा कार्यविधि बनाएर कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको काउन्सिलले जनाएको छ।

केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज र अफवाहपूर्ण सामाग्री प्रसारित भएपछि त्यस्ता माध्यमलाई कारवाही गरेको काउन्सिलले जनाएको हो।

काउन्सिलका सह–प्रशासकीय अधिकृत एवं सह–प्रवक्ता रामशरण बोहराद्धारा जारी विज्ञप्तिमा आधिकारिक एवं विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुने भन्दै भ्रम फैलाउने खालका सूचना सामग्री नफैलाउन सम्बद्ध सबैलाई आग्रहसमेत गरिएको छ।

अभिव्यक्ति स्वतन्त्रता भनेको अराजकता र स्वच्छन्दता कदापी होइन, प्रेस काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ।

‘संचार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ। संविधान र कानूनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न गराउन साथै गल्ती सच्याउने आमसंचार माध्यमको प्रतिबद्धतालाई सम्मान गर्नेतर्फ प्रेस काउन्सिल सदैव सचेत र क्रियाशील छ। आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ। सामाजिक सञ्जालहरु पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरु हट्दै जानेछन्’, काउन्सिलले विज्ञप्तिमा भनेको छ।

काउन्सिलले पत्रकारिताका मान्यताविपरित नजान पत्रकार, संचारकर्मी, सामाजिक सञ्जाल प्रयोकर्तासमक्ष आग्रह गरेको छ।

काउन्सिलले विज्ञप्तिमा भनेको छ, ‘पत्रकारिताका मान्यता विपरित गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने हिंशा, त्रास एवं द्वन्द्वलाई पश्रय दिने, प्रायोजित तथा पक्षपोषणयुक्त, गालीगलौजपूर्ण, घृणा तथा द्वेष फैलाउने सामग्रहरु सम्प्रेषण नगर्न/नगराउन संचार माध्यम र सो अन्तर्गत रहेका युटुयुव च्यानललगायतका सामाजिक सञ्जाल आम पत्रकार, संचारकर्मीसहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा आग्रह गर्दछ।’

प्रेस विज्ञप्तिमा कारवाहीमा परेका माध्यमहरुको विवरणसमेत राखिएको छ।

प्रेसकाउन्सिलनेपाल डट जीओभी डट एनपीमा समाचार छ।