समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११ औँ स्थापना दिवसको अवसरमा सभाको आयोजना

जनसम्मत
मंसिर ८, २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्।

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११ औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा नेता चन्दले भने, ‘८० को दशकलाई राष्ट्रिय स्वाधीनता, समाजवाद निर्माणलाई केन्द्रीत गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउनेछौं।’

महासचिव चन्दले विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताए।

‘देश र नेपाली जनताको सुख तथा समृद्धिका लागि सधैँ काम गरिरहने छौं’, उनले प्रतिबद्धता जनाए।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दै आएको दाबी गरे।

केन्द्रीय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतका कारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाए।

तत्कालीन नेकपा (माओवादी) बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो।

सभाअघि, स्थापना दिवसका अवसरमा आयोजित झाँकीसहितको नगर परिक्रमा गरेको थियो।

सभामा महासचिव चन्दले पार्टीको झन्डोत्तोलन गरेका थिए।