पोउवा संघको सामाजिक विकास केन्द्रले बाल दिवस मनायो

अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा नवप्रभात पहिलो

जनसम्मत
मंसिर ६, २०८१, बिहीवार

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवस मनाएको छ।

बाल दिवसको अवसरमा बिहीबार अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजनासमेत गरेको थियो।

हाजिरीजवाफ प्रतियोगितामा पोखरा–९, नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ।

त्यसैगरी, प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालय दोस्रो भएको छ।

यस्तै, पोखराको नयाँबस्ती सिकाई केन्द्रले तेस्रो र प्रगतिटोल सिकाई केन्द्रले सान्त्वना स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा सामाजिक विकास केन्द्रद्वारा संचालित राम आधारभूत विद्यालय, विन्ध्यबासिनी मावि, शान्तिवन सिकाई केन्द्र, गोस्ते सिकाई केन्द्र, रामघाट सिकाइ केन्द्र, नवप्रभात माविको कक्षा ६,७ र ८ मा पढ्ने ३६ जना विद्यार्थीहरु प्रतिस्पर्धा गरेका थिए।

यो वर्षको बाल दिवसका लागि ‘हरेक बालबालिकाको लागि हरेक अधिकार’ भन्ने मूल नारा तय गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि किडासाका प्रमुख कार्यकारी अधिकृत जेनिस मिलरले किडासा बालबालिकाको हितमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको प्रष्ट पारिन्।

मिलरले बालबालिकाहरुको लागि विजेता बन्नुभन्दा पनि सिकाई महत्वपूर्ण विषय भएको उल्लेख गरिन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकालाई पढ्ने र सिक्ने अवसर प्रदान गर्नु नै महत्वपूर्ण भएको बताए।
पोउवासंघको सामाजिक विकास केन्द्रमार्फत त्यही अवसर प्रदान गरेको कार्कीले बताए।

सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले विपन्नताका कारण बालबालिकाको अधिकार हनन नहोस् भन्नका लागि सिंगो समाज नै जागरुक बन्नुपर्नेमा जोड दिए।

‘सबैको हातेमालोबाट मात्र बालश्रम न्यूनीकरण र सबै बालबालिकाको अधिकार रक्षा हुने उनको धारणा थियो।

सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालका अनुसार केन्द्रले निकृष्ट श्रममा रहेका बालबालिकालाई बाहिर निकाल्ने र उनीहरुको अधिकार रक्षाका लागि विविध कार्यक्रम संचालन गर्दै आइरहेको उल्लेख गरे।

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाको सहयोगमा श्रमिक तथा न्यूनआय भएका परिवारका बालबालिका एवं श्रममा रहेका बालबालिकाको हितमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

केन्द्रले पोखराका विभिन्न क्षेत्रमा बालबालिकाको लागि सिकाई केन्द्रमार्फत् शिक्षासमेत प्रदान गर्दै आइरहेको छ।