कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका–४ को लाहाचोकस्थित ज्ञानज्योति बोर्डिङ स्कुल पालिकाले आयोजना गरेको छैठौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन बनेको छ।
माछापुच्छ्रे गाउँपालिकाको आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा पालिकाका १२ विद्यालयमध्ये ज्ञानज्योतिले ५ स्वर्ण, २ रजत र १ कास्य पदक गरी च्याम्पियन बनेको हो।
च्याम्पियन बनेसँगै ज्ञानज्योतिले रनिङ शिल्डको साथमा नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार हात पारेको छ।
प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित माछापुच्छ्रे मा.वि. दोस्रो भएको छ।
उपविजेता माछापुच्छ्रेले नगद १० हजार रुपैयाँसहित ट्रफी पुरस्कार जितेको छ।
त्यसैगरी, बराह माविले ४ स्वर्ण, ७ रजत र २ कास्य पदक गरी तेस्रो स्थान पाप्त गरेको छ ।
बराह माविले ७ हजार ५ सय रुपैयाँ, साथमा ट्रफी पुरस्कार पुरस्कार हात पारेको छ।
उक्त प्रतियोगितामा अन्तर मावि भलिबल छात्रा/छात्र ,कबड्डी छात्रा÷छात्र, एथलेटिक्स दौड ट्रयाक १००, २००, ४००, ८००, १५०० र ३००० मिटर साथै छात्रा/छत्रा ४ हर्डल्स १०० मिटर रिले, ४ हर्डल्स ४०० मिटर रिले, छात्रा/छत्रा, हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफूट, मार्चपासलगायतका खेलहरु भएको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले जनाएका छन्।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ यही मंसीर ६ गतेदेखि ८ गतेसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा प्रतियोगिता भएको थियो।
सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजी गर्दै सम्बद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्यसहित देशको संघीय संरचनाअनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक राष्ट्रियस्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो।
गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो।
गाउँपालिकाका शिक्षा, यूवा तथा खेलकुद शाखा प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले कार्यक्रम संचालन गरेका थिए।