संचारमन्त्रीको आग्रह, ‘आधारहीन समाचारहरुको पछि नलागौं’

‘सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएको छ’

जनसम्मत
मंसिर ११, २०८१, मंगलवार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आधारहीन समाचारको पछि नलाग्न संचारमाध्यमहरुसमक्ष आग्रह गरेका छन्।

‘सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएको छ’, संचारमन्त्री गुरुङले चिन्ता व्यक्त गरेका छन्।

काभ्रेपलाञ्चोकबाट संचालित ‘मदानी बिट डटकम’ समाचार ‘न्यूज पोर्टल’को प्रथम वार्षिकोत्सवका अवसरमा आज (मंगलबार) धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले संवेदनशील भएर प्रेस स्वतन्त्रताको उपभोग गर्न मिडियाहरुसँग अपिल गरेका हुन्।

‘असत्य खबरका कारण कातिपय परिवारहरु विग्रहमा गएका छन्। मिडियाका समाचारले आत्महत्यासम्मका गंभीर परिस्थिति सृजना हुने गरेको छ। संचारमाध्यम र संचारकर्मी मर्यादाभित्र रहेर प्रकाशन एवं प्रसारण गर्नेतर्फ दत्तचित्त हुनुपर्ने दायित्वबाट चुक्न हुँदैन’, संचारमन्त्री गुरुङले सुझाव दिएका छन्।

उनले प्रेस स्वतन्त्रता र सामाजिक सञ्जाललाई सही सदूपयोग गर्न सुझाएका छन्

‘सरकार, प्रेस स्वतन्त्रताकै पक्षमा छ। स्वतन्त्र प्रेसका पनि सीमा छन। मर्यादा छन्। संस्कृतिभित्र रहेर प्रेस स्वतन्त्र रहनुपर्छ’, मन्त्री गुरुङले सुनाए, ‘समाजमा विद्वेष फैलाउने, अराजकता मच्चाउने खालको हुनु हुँदैन। समाजमा जातीय द्वन्द्व फैलाउने खालको हुनु हुँदैन। ‘सामाजिक सञ्जालको प्रयोग, आइटीको सहजतासँगै अराजक बन्न थाल्यो।’

मन्त्री गुरुङले प्रेस स्वतन्त्रता अराजकता नभएको जिकिर गरेका छन्।

‘प्रेस स्वतन्त्रता भनेको अराजकता होइन। प्रेस स्वतन्त्रता हुनुपर्छ। नागरिकको सूचनाको हकको ग्यारेन्टी हुनु पर्छ। तर, स्वतन्त्रताकै कारण अमर्यादित र छाडा हुनुहुँदैन’, मन्त्री गुरुङको जिकिर छ।

मन्त्रीले गुरुङले मिडिया नियमन गर्न प्रेस काउन्सिल अपर्याप्त भएको समेत उल्लेख गरे।

‘मिडिया नियमनका लागि अझ व्यवस्थित गर्न काउन्सिलको विधेयकमाथि संसदीय समितिमा छलफल अघि बढाइएको छ’, उनले जानकारी दिए।

सामाजिक सञ्जाल प्रयोग, संचालन र नियमन गर्ने विधेयक पनि मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको मन्त्री गुरुङले जनाए।

‘संसद्को आगामी अधिवेशनले त्यो विधेयक पारित गर्नेछ’, मन्त्री गुरुङको दाबी छ।