होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्नेबारे बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ।
होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानीत रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा ‘कमाउँदै, सिक्दै’ भन्ने मान्यताअनुरुप इन्स्योरअन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसीप) संचालनको क्रममा आइपर्ने समस्या निराकरणबारे चर्चा गरिएको थियो।
सो अवसरमा संघअन्तर्गतका होटलका संचालक, व्यवस्थापक र मानव संशाधन विभागका कर्मचारीहरुको उपस्थिति थियो।
स्वीस सरकारको आर्थिक तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गण्डकी प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले इन्स्योर परियोजनामार्फत् प्रि– डिप्लोमा तहको २४ महिने अप्रेन्टिसीप कार्यक्रम संचालन गर्दै आएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को प्रि–डिप्लोमा तहबमोजिम स्वीकृत पाठ्यक्रमको आधारमा २४ महिना अबधि तोकिएको हो।
उक्त अवधिमध्ये साँढे ३ महिना शिक्षालयमा र साँढे १९ महिना औद्योगिक प्रतिष्ठानमा विद्यार्थीले बिताउँछन्।
साँढे १९ महिने औद्योगिक प्रतिष्ठानपछि १ महिना पुनः शिक्षालयमा नै फर्कने प्रावधान छ।
कार्यक्रमअन्तर्गत सूचना प्रविधि, इलेक्ट्रिकल ईञ्जीनियरिङ, मेकानिकल ईञ्जीनियरिङ, अटोमोवाइल, होटल म्यानेजमेन्ट, भवन निर्माण, चिया प्रविधि र बच्चा स्याहार जस्ता ८ क्षेत्र समेटिएको इन्स्योरका प्राइभेट सेक्टर इन्गेजमेन्ट विज्ञ लोकराज जोशीले प्रष्ट्याए।
होटल क्षेत्रमा जनशक्तिले क्षमता अभिवृद्धि गरोस् र व्यवहारिक ज्ञान हासिल गर्न आउने प्रशिक्षार्थीलाई होटल क्षेत्रमै सौहार्द रुपमा स्वागत होस् भन्ने चाहना इन्स्योरको रहेको उनले उल्लेख गरे।
प्रशिक्षार्थीले वीचमै होटल छाडेर हिँडने समस्या समाधानमा ध्यान दिनुपर्ने कार्यक्रममा जोड दिइएको थियो।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीमार्फत् नेपालका युवा, महिला तथा पुरुषहरुलाई सामाजिक तथा आर्थिक लाभ प्रदान गर्ने उद्देश्य–२०७८ बाट संचालित इन्स्योर परियोजनाले लिएको छ।
रोजगारी, श्रम बजारको आबश्यकतालाई सम्वोधन गर्ने र उद्योग तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति परिपूर्ति गर्ने उद्देश्यसमेत छन्।
अप्रेन्टिसीप कार्यक्रम प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै स्थानमा सिकाइने (टिभेट) प्रकृतिको कार्यक्रम हो।
‘कमाउँदै, सिक्दै’ भन्ने मान्यता अनुशरण गर्दै सैदान्तिक र व्यवहारिक दुबै रुपमा अगाडि बढ्ने कार्यक्रमले क्षमता अभिवृद्धिमा समेत जोड दिएको छ।
प्रशिक्षार्थीका लागि सरकारको तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत पारिश्रमिक, पोशाक खर्च, दैनिक सय रुपैयाँ यातायात खर्च, प्रि–डिप्लोमा तहको प्रमाणत्रलगायतका सुविधाहरु छन्।
कार्यक्रममा बोल्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति आपूर्ति गर्न केही हदसम्म भएपनि यस्तो कार्यक्रम सहयोगी हुने उल्लेख गरे।
सीप सिकेको जनशक्ति बैदेशिक रोजगारीमा जाँदा पर्यटन क्षेत्रले कठिनाई भोग्नुपरेको उनले सुनाए।
हान केन्द्रका कोषाध्यक्ष युवराज श्रेष्ठले दक्ष जनशक्तिको अभाव पर्यटन क्षेत्रका लागि ठूलो चुनौति रहेको बताए।
अप्रेन्टिसीप कार्यक्रम त्यस्तो अभाव परिपूर्तिमा सहयोगी हुने उनको भनाई छ।
होटल संघ पोखरा नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले अप्रेन्टिसीप कार्यक्रमको प्रशंसा गरे।
सीटीईभीटीअन्तर्गतको पोखरा प्राविधिक विद्यालयका प्राचार्य हर्कलाल श्रेष्ठ र धौलागिरी प्राविधिक शिक्षालयका प्राचार्य खड्गबहादुर सुब्बासमेतले छलफलमा आफ्ना भनाई राखे।