पर्यटकीय महानगर पोखरेली बासिन्दाले अब शुद्ध खानेपानी पिउने सपना पूरा गर्दैछन्।
पोखरेलीले ५० वर्ष अघिदेखिको सपना पूरा गर्ने भएका हुन्।
योसँगै, पोखरेलीले बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्फत शुद्ध खानेपानीको उपयोग गर्न पाउनेछन्।
अब, पोखरेली उपभोक्ताको घर–घरमा शुद्ध खानेपानीको सुविधा पुग्नेछ।
पोखरा महानगरपालिकाद्वारा संचालित खानेपानी सुधार आयोजना निर्माण पूरा भएपछि पोखरेली उपभोक्ताको शुद्ध खानेपानी पिउने सपना पूरा हुने भएको हो।
जापानको हाज्मा एन्ड कर्पोरेसनले आयोजना निर्माणको जिम्मा लिएको हो।
जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा खानेपानी सुधार आयोजना नेपाल जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) की प्रतिनिधि तानाको तोमोले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई आयोजना हस्तान्तरण गरेकी हुन्।
खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार पोखरा–१९, पुरुञ्चौरमा आयोजनाको उद्घाटन गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ४ अर्ब ८१ करोडको अनुदान सहयोगमा २०७६ सालदेखि संचालित सो आयोजनाको निर्माण पूरा भएसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो।
मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधैं पिउन सकिने शुद्ध पानी पोखरावासीको घर–घरमा पुग्नेछ।
पानी शुद्धीकरणका लागि पाइपलाइन विस्तारसँगै मर्दी मुहानमा ग्रिड च्याम्बर, सेडिभेन्टेशन ट्यांकी र स्लोस्यान्ड फिल्टर निर्माण गरिएको छ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ल्याइएको पानी पुरन्चौरमा निर्माण गरिएको ट्रिटमेण्ट प्लान्टमा शुद्धीकरण गरिनेछ।
उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्यांकीमा जडान गरिएको छ।
मुहान निकटमा ग्रिट च्याम्बर र दैनिक ४ करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्यांकीसम्म जडान गरिएको छ।
सेडिमेन्टेशन ट्यांकीबाट नदीजन्य वस्तुहरु बालुवा, ढुंगा, लेदो, काठका टुक्रा, झारपातलगायतका फोहर हटाएर शुद्धीकरण गरिएको पानी पुरुन्चौरमा निर्माण गरिएको फिल्टरमा लगिएको छ।
उक्त स्थानमा थप पानी छान्ने फिल्टर, २ वटा सफा पानी संकलन ट्यांकी र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ।
पानीको मुहान मर्दीबाँधदेखि विन्दवासिनी संकलन ट्यांकीसम्म साढे ११ किमीको दूरीमा छ।
जुन मर्दी मुहानबाट २० इञ्चीको पाइप ल्याइएको छ भने अर्को १६ इञ्चीको पाइप साँढे ५ किलोमिटरको दुरीमा अमला बिसौनीको ट्यांकीमा संकलन गरिएको छ।
शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा ५ पस्र्याङ र वडा १५ कोलपाटनमा २०÷२० लाख लिटर क्षमताका ३ वटा रिजर्भवायर ट्यांकी निर्माण गरिएको छ।
फूलबारी र पस्र्याङ, कोलपाटनको रिजर्भवायर ट्यांकी निर्माण सम्पन्न भइसकेका छन।
मर्दीखोला मुहानबाट २० र १६ इञ्चका छुट्टाछुट्टै २ पाइपमार्फत पोखरा बजारमा पानी ल्याएर वितरण हुन्छ।
पोखराको ८० प्रतिशत उपभोक्ताका घरमा मर्दीको पानी वितरण हुनेछ।
आयोजनाबाट पोखराका ४ लाखभन्दा बढी जनसंख्या लाभान्वित हुने विश्वास लिइएको छ।
पोखरामा दैनिक ७ करोड लिटर पानीको माग छ।
पोखरामा हाल ५ करोड लिटरमात्र पानी आपूर्ति भइरहेको छ।