‘सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजन पुग्नेछ’

संचारमन्त्री गुरुङ दाबी गर्छन्, ‘सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइनेछ’

जनसम्मत
मंसिर १२, २०८१, बुधबार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुग्ने बताएका छन्।

सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालद्वारा आज पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइने उल्लेख गरे।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सम्पूर्ण नेपाली जनताले सुन्ने गरी सेवा प्रवाह गर्ने बताए।

उनले नेपालको सबै घर धुरीमा रेडियोको पहुँच पुग्ने बताए।

कार्यक्रममा दिइएको सुझावलाई मनन गर्दै अघि बढाउने उनले प्रतिबद्धता जनाए।

‘सरकारी संचार माध्यमहरू आफ्नो खुट्टामा उभिनुपर्छ। राज्यका सबै निकायले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विज्ञापन दिनुपर्छ’, मन्त्री गुरुङको सुझाव थियो।

लालपूर्जा र हुलाक टिकट नेपालमा छाप्न सुरु गरिएको उनले जानकारी दिए।

मन्त्री गुरुङले पहिला काठमाडौँ, पोखरासहितका ६ महानगरबाट फाइभजी सुरु गरिने बताए।

आगामी ३ वर्षभित्र आइटी क्षेत्रबाट ३ लाख युवालाई रोजगार सृजना गराइनेछ। नेपाललाई आइटी हब बनाइनेछ’, मन्त्री गुरुङले उल्लेख गरे।

रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक प्रसारण संस्थाको मर्मअनुसार संघीयताका आधारमा रेडियो नेपालको पुनर्संरचना अघि बढेको बताए।

‘आगामी दिनमा प्रसारण पहुँच र प्रसारण सुधार अघि बढाइनेछ’, लामाले प्रतिबद्धता जनाए।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको पहिलो उपलब्धि रेडियो नेपाल भएको स्मरण गरे।

‘रेडियो नेपाललाई सबैको, मेरो’ भन्ने बनाउनुस’ शर्माको सुझाव थियो।

कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद बस्तीले रेडियो नेपालले ३३ वटा स्टेसनबाट भौगोलिक रूपमा हिमालदेखि पहाड हुँदै तराईसम्म सेवा प्रवाह गर्दै आएको जानकारी दिए।

‘देशभर रेडियो नेपालको केन्द्रीय कार्यालयबाट ६ सहित २५ भाषाबाट समाचार प्रसारण हुँदै आएको छ’, उनले जानकारी दिए।

समयअनुसार रेडियो परिष्कृत हुन नसकेको नेपाल मगर संघ गण्डकीकी अध्यक्ष तारामाया मगरको गुनासो थियो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले रेडियो नेपाललाई प्रविधिको अधिकतम प्रयोग गर्न सुझाव दिए।

राष्ट्र भाषाको प्रवद्र्धनन गर्न उनले आग्रह गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै रेडियो नेपाल, योजना, विकास तथा विस्तार महाशाखाका निर्देशक पुष्करराज गौतमले गण्डकी प्रदेशबाट सुरु भएको अन्तरक्रियालाई सातै प्रदेशमा आयोजना गरिने बताए।

रेडियो नेपालको गण्डकी प्रादेशिक प्रसारण कार्यालयका प्रमुख शान्ति गुरुङले मातृभाषामा समाचार र कार्यक्रम प्रसारण गर्दा देखिएका चुनौती समाधानका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्न जरुरी रहेको औंल्याइन्।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्रभूषण लाल दासले अन्तरक्रियासहित रेडियो नेपालको पोखरास्थित प्रादेशिक कार्यालयका कर्मचारीसँग विज्ञापन प्रवद्र्धन र स्थानीय सवालबारे छलफल हुने बताए।

त्यस अवसरमा कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले रेडियो नेपालको समावेशी अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको कार्यक्रममा विभिन्न समुदायका व्यक्तिसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

रेडियो नेपाल डट गोभ डट एनपीमा समाचार र फोटो छ।