टिकटकले हटायो ६ हजार बढि भिडियोहरु

हटाइएका ती भिडियोहरु ‘कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोस्ट भएका छन्

जनसम्मत
मंसिर १८, २०८१, मंगलवार

टिकटकले ६ हजार ७८ भिडियोहरु हटाएको छ।

हटाइएका ती भिडियोहरु ‘कम्युनिटी गाइडलाइन्स’विपरीत पोस्ट गरिका थिए।

अप्रिल र जुन महिनामा पोस्ट भएका यस्ता भिडियो हटाइएको टिकटकका प्रतिनिधिले जनाएका छन्।

संचार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा आज (मंगलबार) टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा यो जानकारी दिइएको हो।

टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाएको निर्देशिका (गाइडलाइन) बारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूहसमेत छुट्याइएको उनको भनाई थियो।

टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ।

यद्यपी, प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतनाको अभावका कारण गाइडलाइनको सही पालना नभएको उनको तर्क छ।

कार्यक्रममा दक्षिण एशियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवद्र्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

उनले विशेषगरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’बनाएको जानकारी दिए।