एनपीएल क्रिकेटमा काठमाण्डौ गुर्खाजको पहिलो जीत

काठमाण्डौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो

जनसम्मत
मंसिर १९, २०८१, बुधबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ।

कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाण्डौ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टाायो।

काठमाण्डौका सुमित महर्जनले नटआउट सर्वाधिक ४० रन बनाए।

गेरहार्ड इरस्मसले ३८ थपे।

कप्तान करण केसीले २८ रन जोडे।

कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले समान १/१ विकेट लिए।

यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो।

कर्णालीका शिखर धवनले नटआउट सर्वाधिक ७२ रन बनाए।

प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे।

काठमाण्डौका गेरहार्ड इरस्मसले २ विकेट लिए।

प्रतियोगितामा काठमाण्डौको यो पहिलो जीत हो।

यसअघि, काठमाण्डौ पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

कर्णालीले भने लगातार दोस्रो हार ब्यहोरेको छ।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित बनेको थियो।