एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत

पोखरा एभेन्जर्सको लगातार दोस्रो हार, पोखरालाई जनकपुरले ७ विकेटले हरायो

जनसम्मत
मंसिर २०, २०८१, बिहीवार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जीत निकालेको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा विहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो।

पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै ३ विकेट गुमाएर भेट्टाायो।

जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन जोडे।

त्यसपछि, जेम्स निशमले नटआउट ४० रन बनाए।

आशिफ शेखले ३३ रन थपे।

पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले समान १/१ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो।

यसैगरी, पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए।

जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए।

पोखराको यो लगातार दोस्रो हार हो।

जारी एनपीएलमा जनकपुर ६ अंकसहित शीर्ष स्थानमा छ।

अंकको खाता खोल्न नसकेको पोखरा पुछारमा छ।