पोखराको भण्डारढिकमा २५ औं संस्करणको आदर्श कप फुटबल हुँदै

आयोजक आदर्श युवा क्लब र तनहुँबीच उद्घाटन खेल

जनसम्मत
मंसिर १९, २०८१, बुधबार

पोखराको लेखनाथस्थित भण्डारढिकमा २५ औं संस्करणको फुटबल टुर्नामेन्ट हुने भएको छ।

आदर्श युवा क्लबको आयोजनामा आउँदो शनिबारदेखि भण्डारढीक खेल मैदानमा २५ आदर्श कप फुटबल प्रतियोगितामा हुने भएको हो।

झण्डै, ६ वर्षपछि आदर्श क्लबले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागेको आज बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

आयोजक आदर्श युवा क्लबले फुटबलको शाखलाई जोगाउने प्रयासस्वरुप लेखनाथमा फुटबललाई फर्काइएको जनाएको हो।

प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको जनाएको छ।

क्लबले प्रतियोगिताको लागि आफनो जर्सीसमेत सार्वजनिक गरिसकेको छ।

प्रतियोगितामा आयोजक आदर्श युवा क्लबसहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन्।

आयोजक आदर्श युवा क्लव, कास्की ११, विभागीय नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको (एपीएफ) तनहुँ, गोरखा र स्याङजाका १/१ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आयोजक आदर्श युवा क्लब र तनहुँको टिमले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो दिन, नेपाल आर्मीको सिद्धीदल गणले सशस्त्र प्रहरी बलको गण्डकी मुख्यालयको विभागीय डर्बीबीच प्रतिस्पर्धा हुने छ।

प्रतियोगिताको विजेताले ४ लाख २५ लाख ५२५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिताका संयोजक एवं अध्यक्ष पदम गुरुङले जानकारी दिएका छन्।

त्यसैगरी, उपविजेताले २ लाख २५ हजार ५२५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ।

विद्यागत रुपमा प्रतियोगिताको उत्कृष्ठ खेलाडीले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचसमेतले नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्रसहितको सम्मान पाउनेछन्।

प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले नगद ५ हजार र ट्रफीको पुरस्कार पाउनेछन्।

यस्तै, प्रतियोगिताको अनुशासित टोलीले ट्रफी र प्रमाणपत्रको सम्मान पाउनेछ।

आयोजकले दर्शकलाई उत्साहित बनाउनका लागि प्रत्येक टिकटमा एनसेल नेटवर्कको एउटा सिम कार्ड निशुल्क प्रदान गर्नेछ।

यस्तै, प्रत्येक टिकट खरिदमा यार्साटेक प्रा.लि.ले बिक्री गर्ने सामाग्री खरिद गरेमा दर्शकले ३ सय रुपैयाँ नगद छुट पाउनेछन्।

त्यसैगरी आयोजक आदर्श क्लबले लेखनाथकै पत्रकार मञ्च लेखनाथलाई प्रतिटिकटको १५ रुपैयाँ छुट्टाइएको जानकारी गराए।

प्रतियोगितालाई सौर्य सिमेन्टले मुख्य प्रायोजक गरेको छ।

अघिल्लो संस्करणको प्रतियोगितामा रिद्धीसिद्धी सिमेन्टले प्रायोजन गरेको थियो।