रेडियो नेपालका अर्याल र चौधरीलाई सम्मान

३३ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा उनीहरुलाई सम्मान गरेको हो

जनसम्मत
मंसिर १८, २०८१, मंगलवार

रेडियो नेपालको समाचार महाशाखामा कार्यरत पत्रकार कुशल अर्याल र कार्यक्रम प्रस्तोता विद्या चौधरीलाई सम्मान गरिएको छ।

३३ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा उनीहरुलाई सम्मान गरेको हो।

विगत लामो समयदेखि संचार माध्यममा अपाता भएका व्यक्तिहरूको सवाललाई उजागर गर्न योगदान गरेको भन्दै उनीहरूलाई सम्मान गरेको हो।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा बुधबार भृकुटीमण्डपमा आयोजित मूल समारोहमा मन्त्री नवलकिशोर शाह सुडीले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

कार्यक्रम संचालक चौधरीले रेडियो नेपालको आफ्नै उत्पादनमूलक ‘हाम्रो बोली’ कार्यक्रम वि.सं. २०७७ भदौदेखि हालसम्म अनवरत रूपमा संचालन गर्दै आएका छन्।

अपांगता भएका व्यक्तिहरूको सरोकार र सवालमा रहेर कार्यक्रम ‘हाम्रो बोली’ मा बहस पैरवी गर्दै शारीरिक, मानसिक, बौद्धिकलगायत सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको विषयवस्तुलाई स्थान दिने गरेको छ।

सम्मानीत चौधरीले अपांगताको क्षेत्रमा थप काम गर्ने हौसला र प्रेरणा मिलेको प्रतिक्रिया दिए।

कार्यक्रममा समेटिएका सामग्रीले अपांगता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट पछाडि पारिएका र बहिष्करणमा परेका वर्गको आत्म सम्मानमा अभिवृद्धि गर्ने उद्देश्य रहेको चौधरीले बताए।

सो अवसरमा अपांगता भएका व्यक्तिहरूको सवालमा काम गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ।

तस्बीरः रेडियोअनलाइन डट कम