फ्रेचाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेट्टायो।
पोखराका आन्द्रेस गौसले कीर्तिमानी शतक बनाए।
एनपीएलमा पहिलो शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १०४ रन जोडे।
अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन्।
उनले २० बलमै अधर्शतक बनाए।
यस्तै, पोखराका दिनेश खरेलले ६१ रन बनाए।
एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी पनि हो।
यस्तै आन्द्रेस र दिनेशबीच एनपीएलकै उच्च रनको साझेदारी भएको छ।
यसअघि, उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्ष ठाकरले विराटनगर किङ्ससँगको खेलमा तेस्रो विकेटका लागि नटआउट ११६ रनको साझेदारी गरेका थिए।
यसैगरी, पोखराले पावरप्लेमा ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान पनि बनाएको छ।
यसअघि, जनकपुर बोल्ट्सले कर्णाली याक्ससँगको खेलमा पावरप्लेमा कुनै विकेट नगुमाई ५६ रन बनाएको थियो।
यसअघि, टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनायो।
लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए।
५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे।
यसैगरी, टस मूर्सले ४५ रन जोडे।
पोखराका विपिन खत्रीले २ विकेट लिए।
योसँगै पोखराले प्रतियोगितामा पहिलो जीत हात पारेको छ।
पोखराले यसअघि लगातार २ खेल हारेको थियो।
लुम्बिनीले भने लगातार दोस्रो हार ब्यहोरेको छ।
एनपीएलमा भोलि पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन्।
दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र विराटनगर किङ्सले प्रतिस्पर्धा गर्दैछन्।