संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
संघीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन्।
मन्त्रालयमा आइतबार आयोजित संघीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरूसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोतसाधन,
प्रशिक्षणलगायत विषयमा आफू सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
‘सूचनाको हक जनताको मौलिक हक हो। त्यसकारण सूचना सत्य, तथ्य र सही दिनुपर्ने हाम्रो कर्तव्य हो। प्रवक्ता र सूचना अधिकारीको आवश्यक व्यवस्थापन, दक्ष बनाउने तथा व्यवस्थित गर्नेमा मन्त्रालय सकारात्मक छ’, उनले उल्लेख गरे।
मन्त्री गुरुङका अनुसार प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो।
मन्त्री गुरुङले प्रवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र चुनौती पनि उत्तिकै रहेको प्रतिक्रिया दिए।
आफ्ना अनुभव सुनाउँदै मन्त्री गुरुङको प्रतिक्रिया थियो, ‘जनताको सूचनाका हक सुनिश्चित गर्ने मुख्य दायित्व प्रवक्ता र सूचना अधिकारीलगायत सम्बन्धित सबै शाखाको समेत उत्तिकै सहयोगी भूमिका जरुरी हुन्छ।’
प्रवक्ताहरूले काम गर्दा भोग्नुपरेका समस्याहरू सुनेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ ध्यान दिने प्रतिबद्धता मन्त्री गुरुङले प्रतिबद्धता जनाए।