गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको दाबी गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री थापाले भने, ‘बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल बनेको छ।’
मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सीमान्तकृत समुदाय, महिला र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उल्लेख्य काम भएको गरे।
उनले भने, ‘गण्डकी प्रदेशमा हामीले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रयासहरू गरिरहेका छौं। हामीले रोजगारका अवसरहरू सिर्जना गर्न मात्र होइन, स्थानीय स्तरमा सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन र खेलकुद गतिविधिमार्फत युवाहरुलाई सशक्त बनाउन पनि काम गरिरहेका छौं।’
मन्त्री थापाले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा बजेट अभाव र संरचनागत समस्या भएकाले चुनौति थपिएको टिप्पणी गरे।
ग्रामीण क्षेत्रका जनतालाई रोजगारीका अवसर उपलब्ध गराउन समन्वयको खाँचो भएको भनाई उनको टिप्पणी छ।
स्थानीय, प्रदेश र संघ सरकारले समन्वयात्मक तवरले उक्त कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याए।
‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच अझ राम्रो समन्वय आवश्यक छ। साथै निजी क्षेत्र र अन्य साझेदारहरूको सहभागिताले उक्त कार्यक्रमलाई अझ सुदृढ बनाउन सकिन्छ’, उनले उल्लेख गरे।
गण्डकी प्रदेश सरकार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षाको प्रत्याभूति दिन, आर्थिक अवसरहरू सिर्जना गर्न र दीर्घकालीन विकासका आधारहरू तयार गर्न प्रतिबद्ध रहेको उनले उनको भनाई छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका प्रमुख सचिव रघुराम विष्टले नेपालको संविधानले नै रोजगारी हकको ग्यारेण्टी गरेकाले यसको आवश्यकता र औचित्यलाई मध्यनजर गर्दै अगाडि बढनुपर्नेमा जोड दिए।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्न सकेमात्र सफलता मिल्ने औंल्याए।
‘वैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका विषयलाई व्यवस्थापन गर्न कार्यगत एकताको खाँचो छ’, उनको भनाई छ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले रोजगारसँग जोडिएको विषयमा सरकार संवेदनशील हुन आवश्यक रहेको बताए।
पोखरा महानगर समेत त्यसैअनुरुप लागिरहेको उनको भनाई थियो।
बरेङ गाउँपालिकाका रोजगार संयोजक केशवराज क्षत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो र विपन्नसँग जोड्ने कार्यक्रम भएको अनुभव सुनाए।
कार्यक्रम निर्देशक प्रदिपकुमार कोइरालाले गण्डकीमा हुने २ दिने समीक्षा कार्यक्रममा गण्डकीका ११ जिल्लाका ८५ वटै पालिकाका रोजगार संयोजकहरुको उपस्थिति रहेको जानकारी दिएका छन्।
उक्त कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताका विषयमा गहन छलफल हुने उनको भनाई छ।