हिमालयन बोर्डिङ र सरस्वती आदर्श प्याब्सन स्पोर्ट्स मिट च्याम्पियन

समान अंकका साथ घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम च्याम्पियन बन्यो

जनसम्मत
मंसिर २३, २०८१, आइतबार

हिमालयन बोर्डिङ र सरस्वती आदर्श स्कूल १८ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् ।

पोखरामा आयोजित ५ दिनसम्म चलेको स्पोर्ट्स मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका हुन्।

रनिङ शिल्ड भने पहिलो वर्ष हिमालयनले लिएको प्रिन्सिपल डा. टेकनारायण पौडेलले बताएका छन्।

आइतबार पोखरा रंगशालामा स्पोर्ट्स मिट समापनमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमालयनका डा. पौडेल तथा सरस्वतीका स्वागतमानसिंह भण्डारीलाई संयुक्त रुपमा रनिङ शिल्ड प्रदान गरेका हुन्।

टिम इभेन्टतर्फ ह्याण्डबलमा दुवै स्कूल विजेता र उपविजेता भई सर्वाधिक अंक जोडेका थिए।

हिमालयन गल्र्सतर्फ पहिलो र छात्रतर्फ दोस्रो हुँदा सरस्वती छात्रतर्फ, प्रथम र छात्रातर्फ दोस्रो भएको हो।

शनिबार छात्रतर्फ फुटबल फाइनलको उपाधि बालकल्याणले जितेको छ।

उसले शान्तिदीपलाई ३–१ गोलअन्तरले हरायो।

छात्रातर्फ भने कुमुदिनी प्रथम भएको छ।

विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासमा सहयोग पुग्ने उद्देश्यका साथ प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्ट्स मिटमा ४५ सय जना विद्यार्थीले विभिन्न इभेन्टमा भाग लिएका थिए।

स्पोर्ट्स मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेलहरु भएको थियो।

कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेल भएको हो।

प्याब्सनले स्थापनाकाल २०४७ देखि शिक्षासँगै खेलकुदको विकास गर्ने उद्देश्यले प्याब्सन स्पोर्ट्स मिट आयोजना गर्दै आएको अध्यक्ष मथुराप्रसाद पौडेलले बताए। संस्थामा ९९ विद्यालय सदस्य छन्।

प्याब्सन कास्कीअन्तर्गत ७५ हजार विद्यार्थी अध्ययनरत् छन्।

प्रतियोगिता संयोजक एवं प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरिन्।

समापनमा प्रदेश प्रमुख भट्टसहित नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं प्रदेश खेलुकद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, वीरबहादुर बुढाथोकी, केन्द्रीय सल्लाहकार गणेशमानसिंह भण्डारी, माधवशरण उपाध्याय, प्याब्सनका केन्द्रीय सदस्य एवं प्याब्सन कास्कीका प्रमुख सल्लाहकार प्रेमप्रसाद शर्मा, प्याब्सन अध्यक्ष मथुराप्रसाद पौडेल, स्पोर्ट्स मिट संयोजक उमा लामिछाने, एथलेटिक्स संयोजक विधान गौतमलगायतले पुरस्कार वितरण गरे।

स्पोर्ट्स मिटमा अघिल्लो वर्ष टप्स उच्चमावि च्याम्पियन बनेको थियो।