नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा लगातार दोस्रो जित निकालेको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघविरुद्ध ३–१ सेटको जित निकाल्यो।
सुरुआती २ सेट ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो।
हेल्प नेपालले पहिलो सेट २५–१५ ले जित्यो।
त्यसैगरी, दोस्रो सेट पनि हेल्प नेपालले २५–२३ ले आफ्नो पक्षमा जीत निकाल्यो।
हेल्प नेपालले तेस्रो सेट भने २३–२५ ले गण्डकीलाई सुम्पेको थियो।
चौथो सेटमा २५–१६ को सहज जित निकाल्दै हेल्प नेपालले विजयी यात्रालाई कायम राख्यो।
जितसँगै हेल्प नेपालले २ खेलबाट ५ अंक जोडेको छ।
दुवै खेलमा पराजित गण्डकीले समान खेलबाट १ मात्र अंकको खाता खोलेको छ।
पहिलो खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गरेको थियो।
गण्डकीले मल्दिभ्सको क्लब एचडिसीसँग ३–२ सेटकै हार ब्यहोरेको थियो।
अब, गण्डकीले सोमबार इरानको यु–१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसैगरी, हेल्प नेपालले बुधबार माल्दिभ्सको क्लब एचडीसीको सामना गर्नेछ।