आदर्श कपमा कास्की–११ को विजयी सुरुवात

कास्कीले स्याङ्जा फुटबल संघलाई २–० ले हरायो

जनसम्मत
मंसिर २४, २०८१, सोमबार

कास्की–११ ले २५ औं संस्करणको आदर्श कप फुटबलमा विजयी सुरवात गरेको छ।

पोखराको लेखनाथस्थित भण्डारढिकमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जा फुटबल संघलाई २–० गोलले पराजित गरेको हो।

जीतसँगै कास्की–११ ले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

कास्कीको जीतमा मुकुन्द न्यूरे र अनिष तामाङले गोल गरे।

मुकुन्दले पहिलो गर्दै टिमलाई अग्रता दिलाए।

त्यसैगरी, कास्कीकै अनिषले खेलको ७६ औं मिनेटमा गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए।

कास्की–११ ले सेमिफाइनलमा आयोजक आदर्श युवा क्लबसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।

यसअघि, उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले तनहुँ फुटबल संघलाई हराउँदै सेमिफाइनल पुगिसकेको छ।

मंगलवार पहिलो चरणको अन्तिम खेल विभागीय नेपाल प्रहरीविरुद्ध एन्फा गोरखाले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको विजेताले ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ रुपैयाँ नगद र शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछ।

यस्तै, उपविजेताले २ लाख २५ हजार ५ सय २५ रुपैयाँ नगद र शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछ।

विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीले नगद २५ हजार रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन्।

विधागततर्फ, बेस्ट प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन्।

‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसीर २२ देखि २९ गतेसम्म आयोजना गरेको प्रतियोगितामा शौर्य सिमेन्ट कम्पनी मुख्य प्रायोजक बनेको छ।