गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनसीपमा लगातार तेस्रो हार ब्यहोरेको छ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा इरानको यु–१८ को टोलीसँग गण्डकी ३–२ को सेटमा पराजित भएको हो।
सुरुआती २ सेट जितेको गण्डकीले त्यसपछिको लगातार ३ सेट इरानी यु–१८ को युवा टोलीलाई सुम्प्यो।
गण्डकीले प्रतिस्पर्धात्मक पहिलो सेटमा २८–२६ को कठिन जीत निकाल्यो।
त्यसैगरी, दोस्रो सेटमा पनि गण्डकीले २५–२३ ले आफ्नो पक्षमा कठिन जीत हात पारेको थियो।
गण्डकीले त्यसपछिका तीन सेट भने गुमायो।
गण्डकीले तेस्रो सेटमा २१–२५ ले गुमायो।
त्यसैगरी, चौथो सेट पनि गण्डकीले २२–२५ ले हार्न पुग्यो।
अन्तिम तथा पाँचौ सेट गण्डकीले ११– १५ को अंकमा गुमायो ।
पहिलो खेलमा माल्दिभ्सको एचडीसी क्लबसँग गण्डकी ३–२ ले पराजित भएको थियो।
दोस्रो खेलमा हेल्प नेपालसँग गण्डकी ३–१ को सेटमा पराजित भएको थियो।
काभा पुरुष च्याम्पियनशिपमा नेपालसहित ४ देशबाट ५ क्लबहरु सहभागी छन्।
८ दिनसम्म चल्ने च्याम्पियनसीपमा कूल १४ खेल हुनेछन्।
लिगमा उत्कृष्ट हुने शीर्ष ४ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
लिगको शीर्ष टिमले तेस्रो स्थानमा आउने टोलीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी, दोस्रो स्थानमा आउने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ।