पोखरामा २६ औँ संस्करणको ‘सडक महोत्सव’को तयारी

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नारासहित सडक महोत्सवको आयोजना गरिदैँछ

जनसम्मत
मंसिर २४, २०८१, सोमबार

पोखरामा विगतमा जस्तै यस वर्षपनि २६ औँ संस्करणको ‘सडक महोत्सव’को तयारी तीब्र पारिएको छ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी २६ औँ संस्कणको ‘पोखरा सडक महोत्सव’ गर्ने भएको हो।

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म ‘सडक महोत्सव’ हुन लागेको २६ औँ पोखरा सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिएका छन्।

उनका अनुसार हरेक वर्ष पोखराको लेकसाइडस्थित ३ किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म) लाई समेटेर सडक महोत्सव गर्न लागिएको हो।

महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण बन्दै गएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलको दाबी छ।

कला संस्कृति प्रवद्र्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धीपूर्ण बन्दै गएको उनले बताए।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगितालगायतका मनोरञ्जनमूलक इभेन्टहरु रहेको सांस्कृतिक संयोजक चौबहादुर गुरुङले जानकारी दिए।

गुरुङका अनुसार यस वर्ष लमजुुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्यलगायतका सांस्कृतिक प्रस्तुतिका रहनेछन्।

छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुति समेत रहने गुरुङले उल्लेख जनाए।