स्याङ्जाको गल्याङमा जलवायुसम्बन्धी गोष्ठी

पानीलाई कसरी विपदबाट समृद्धिमा बदल्न सकिन्छ ? विषयक गोष्ठीमा जलवायुका असर न्यूनीकरण गर्न ३ वटै तहको सरकारले सहकार्य आवश्यक गर्नुपर्नेमा सहभागीहरुको जोड

जनसम्मत
मंसिर १०, २०८१, सोमबार

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा जलवायुसम्बन्धी गोष्ठी गरिएको छ।

पानीलाई कसरी विपदबाट समृद्धिमा बदल्न सकिन्छ ? भन्ने विषयक गोष्ठी भएको हो।

गोष्ठीमा वातावरण सम्बन्धी विज्ञहरुले जलवायु परिवर्तन र वातावरणीय प्रभावका असर तीव्र रूपमा बढेको बताएका छन्।

‘परम्परालाई छाड्दै आधुनिक शैली अगाल्नुले हाम्रो वातावरणमा परिवर्तन आएको हो। त्यसका लागि ३ वटै तहका सरकारले विज्ञहरुको सुझावका आधारमा नीति निर्माण गर्नुपर्ने हुन्छ। वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको छ’, विज्ञहरुको सुझाव छ।

सरकारको विकास निर्माण वातावरणीय प्रभावका विषयमा अध्यायन गरिनु, हाम्रो कृषिलाई आधुनिकताको नाममा रासायनिक मलको प्रयोग वढाइनु, बन जंगल, जलाधार क्षेत्रको संरक्षण नगरिनु, गाउँ नबस्ने, ठाँउमा शहर नहुनु, शहरीकरणको लागि उपयुक्त ठाँउ पहिचान नगरी शहर बसाल्नेलगायतका सामान्य गल्तीले पनि वातावरणमा प्रभाव परेको गोष्ठीमा विज्ञहरुले धारणा राखेका छन्।

जलवायु परिवर्तनले पानी, स्वास्थ्य, जैविक विविधता, कृषि, वन तथा पशुपालनमा अत्यन्त नराम्रो प्रभाव परिसकेको हुँदा स्थानीय तहदेखि केन्द्रसम्म यसवारे साझा धारणा वनाउन आवश्यक रहेको उनीहरुको सुझाव थियो।

सरकारको नीतिगत समस्याका कारण स्थानीय तह, प्रदेश र केन्द्र सरकारले गर्ने काम र क्षेत्रवारे प्रष्ट नीति बनाउन आवश्यक रहेको उनीहरुले औल्याए।

गल्याङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्षहरु, सबै जनप्रतिनिधि, समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रममा जलवायु तथा पानी व्यवस्थापन समस्या पहिचान, गण्डकी प्रदेशमा पानी र जलवायु जोखिम न्यूनिकरणका लागि सामुदायिक संस्था र नागरिकको भूमिका, जलवायु तथा पानी व्यवस्थापनमा सहरीकरणका चुनौती र संभावना, जलवायु तथा पानी व्यवस्थापनमा गल्याङ नगरपालिकाको चुनौती र अवसरहरु लगायतका विषयहरुमा वृहत् छलफल गरिएको थियो।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले हाम्रो भूगोल, व्यवस्थित बस्ती विकास, कमजोर भूभाग, विकासका लागि स्रोत अभाव, निर्वाचनमूखी कार्यशैली, दिगो विकासको लक्ष्य नहुनुजस्ता कमी कमजोरीका कारण यस्तो समस्या समस्या निम्तिएको वताए।

नगरपालिकाको दिगो विकास र प्रभावकारी विकासका लागि विज्ञहरुको सुझाव लिएर आगामी कार्यक्रम तय गर्ने लक्ष्य लिएको अध्यक्ष भट्टराई जिकिर थियो।

नेपाल पानी सदुपयोग फाउन्डेसनको आयोजनामा गल्याङ नगरपालिका, वालिङ नगरपालिका र स्थानीय सरकार सवलीकरणको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व जलस्रोतमन्त्री प्राज्ञ दिपक ज्ञवाली, काठमाडौ विश्वविद्यालयका उपप्राध्यापक डा. नानी रावत, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा चन्द्रलाल पाण्डे, वन तथा भूपरिधि योजनावीद् लक्ष्मीदत्त भट्ट, नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा ङमिन्द्र दाहाललगायतको उपस्थिति थियो।