रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

चितवनको सहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा रबिविरुद्ध मंसीर ५ गते चितवन प्रहरीमा पूरक जाहेरी परेको थियो

जनसम्मत
मंसिर १८, २०८१, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार चितवन लगिएको छ।

उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसीर ५ गते पूरक जाहेरी दर्ता भएको थियो।

यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो।

सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई २ दिन लगाएर बयान लिइएको थियो।

जोशी र खनाललाई आइतबार चितवन ल्याएर सोमबार बयान लिइएको थियो।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतको थुनामा रहेका लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सोमबार बयान सकिएको थियो।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको छ।

स्वर्णलक्ष्मीबाट लिएको ऋण, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको थियो।