रवि लामिछानेको चितवनमा दोस्रो दिनको बयान सकियो

लामिछानेलाई २ दिनसम्मको बयानमा ७६ प्रश्नहरु सोधियो

जनसम्मत
मंसिर १९, २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेको चितवनमा दोस्रो दिनको बयान सकिएको छ।

सहकारीको रकम हिनामिनाको आरोपमा बयानको लागि चितवन लगिएका लामिछानेसँग त्यहाँ २ दिन लगाएर बयान लिइएको थियो।

कार्यालय समय खुलेसँग आज बुधबार चितवन प्रहरी हिरासतबाट सरकारी वकिल कार्यालय लगिएका लामिछानेको दोस्रो दिन १० घण्टासम्म बयान लिइएको थियो।

चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेल र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत डीएसपी ज्ञानकुमार महतोले लामिछानेको बयान लिएका थिए।

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछानेलाई हिँजो मंगलबार बिहान मात्रै काठमाडौंबाट सिधै चितवन ल्याइएको थियो।

उनलाई यहाँ ल्याउनेबित्तिकै पहिलो दिन करिव ५ घण्टा बयान लिइएको थियो।

लामिछानेसँग हिँजो मंगलबार र आज बुधबार गरी चितवनमा २ दिनसम्म बयान लिइएको थियो।

लामिछानेसँग २ दिनमा ७४ वटा प्रश्नहरुमा बयान लिइएको हो।

पहिलो दिन मंगलबार लामिछानेसँग २६ प्रश्नहरु सोधिएको थियो।

दोस्रो दिन आज बुधबार लामिछानेसँग ४८ वटा प्रश्नहरु सोधिएको थियो।

यसअघि, सरकारी वकिलको कार्यालय चितवनले लामिछानेका लागि ६५ वटा प्रश्नहरु तयार पारेको थियो।

लामिछानेको बयान सकिए पनि आज बुधबार जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने चितवन प्रहरी स्रोतले बताएको छ।

लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसीर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको थियो।