राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले भेट गरेका छन्।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल कास्की प्रहरीको हिरासतमा रहेका रबिलाई भेट्न शनिबार दिउँसो राप्रपाका प्रवक्तासमेत रहेका सांसद शाही पोखरा आई पुगेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै पुगेर शाहीले रबिसँग भेटघाट गरेका हुन्।
शाहीले लामिछानेलाई हिरासतमा भेटेर उनको सुरक्षा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
शाहीले चितवन प्रहरीले लामिछानेलाई अमानवीय व्यवहार गरेको बताए।
शाहीले रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रतिक्रिया दिए।
शाहीले भनेका छन्, ‘प्रतिशोध नभइदिएको भए अरु मान्छेलाई पनि थुन्नुपथ्र्यो। किनभने, अरु पनि छन् सहकारीमा। कानूनी राज्यको सबैले पालना गर्नुपर्छ। अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ। यो चाहिँ खेद प्रकट गर्छु।’
शाहीले मध्यरातमा मदिरा सेवन गरेका प्रहरीले लामिछानेलाई दुव्यवहार गरेको बताएका छन्।
हिरासतमा लामिछानेसँगको भेटमा मापसे गरेको प्रहरीले आफूलाई दुव्यवहार गरेको बताएको उल्लेख गरे।
सहकारी रकम अपचलन मुद्दामा रवि कार्तिक २ काठमाडौंबाट पक्राउ परेदेखि कास्की प्रहरीको हिरासतमा छन्।
उनलाई विभिन्न सहकारीको बचत अपचलको आरोपमा छानबिनका लागि बयान गराउन रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो।
लामिछानेलाई बुधबार मध्यरातमा चितवनबाट कास्की लगिएको थियो।