इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र संचालनमा ल्याइएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले केन्द्रको शुभारम्भ गरेका हुन्।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्नेगरी लेखनाथमा उक्त उपकेन्द्र संचालनमा ल्याइएको हो।
केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि समेत आवश्यक परामर्श सेवा दिने गर्दछ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्दर्भमा सामी परियोजनामार्फत सरकारले प्रभावकारी कार्यहरू गर्दै आइरहेको छ।
नगर प्रमुख आचार्यले महानगरपालिकाले स्वदेश मै रोजगारी सृजना गरी उद्यमशीलताको प्रवद्र्धनमा लागिरहेको उल्लेख गरे।
प्रमुख आचार्यले भने, ‘सामी परियोजनाले वैदेशिक रोजगारीमा जानेहरूका लागि समेत आवश्यक तालिम र परामर्शका कार्यक्रमहरू समेत संचालन गरिरहेको छ। विभिन्न अवधिका तालिमका कक्षाहरू संचालन गरिरहेको महानगरपालिकाले सीप विकासमा जोड दिइरहेको छ। वैदेशिक रोजगारीका सम्बन्धमा आइपर्ने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि महानगरपालिका आवश्यक समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको छ।’
सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले वैदेशिक रोजगारीका सवालमा दैनिक रूपमा आउने समस्या र गुनासाको सुनुवाई तत्काल प्रभाव पर्नेगरी गरिएको उल्लेख गरे।
‘वैदेशिक रोजगारीलाई सुरक्षित र विश्वासिलो बनाउने कार्यमा आफूहरू लागिरहेका छौं’, उनले भने।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका उपसचिव प्रकाशचन्द्र ढुंगाानाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक रहेको औंल्याए।
सामी परियोजनाकी प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापक उमाकला शर्माले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको उल्लेख गरिन्।
यसको निराकरणका लागि चेतना र वैदेशिक रोजगारीमा आत्मसम्मानको आवश्यकतामा जोड दिइन्।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा नं.३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी र पोखरा महानगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद दाहाललगायतले बोलेका थिए।
कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारीका सम्बन्धमा भोग्न परेका समस्याहरूका बारेमा जिज्ञासा राखेका थिए।