‘स्व. गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्छ’

मन्त्री थापा भन्छन्, ‘नेपाली समाज र काँग्रेस पार्टीको विकासका लागि उहाँले दिएको योगदान स्तुत्य छ’

जनसम्मत
पौष १, २०८१, सोमबार

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्व. डिलबहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताएका छन्।

नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङको श्रद्धाञ्जलीसभाको कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन्।

मन्त्री थापाले भने, ‘स्व. गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली समाज र काँग्रेस पार्टीको विकासका लागि उहाँले दिएको योगदान स्तुत्य छ। राजनीतिलाई पद र प्रतिष्ठा भन्दापनि समाजको परिर्वतनको मूल नीतिका रुपमा लैजानुपर्छ भन्ने स्व. गुरुङको साँेचलाई पुरा गर्ने जिम्मेवारी हामीमा आएको छ।’

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले स्व. गुरुङको राजनीति सोँच र व्यक्तित्वले काँग्रेसलाई सधैँ अभिभावकत्व दिईरहेको अवस्थामा उहाँको निधनले पार्टीलाई ठूलो क्षति भएको औंल्याए।

गण्डकी प्रदेशका सांसद रेखा गुरुङले स्व. गुरुङ राजनीतिक चिन्तकमात्र नभई समाजिक अभियन्ताका रुपमा रहेको स्मरण गरिन्।

पर्वत काँग्रेसका नेता नवराज गुरुङले स्व.गुरुङ बिकासप्रेमी नेता रहेको उल्लेख गरे।

कार्यक्रममा स्व. गुरुङका कान्छा छोरा शेरबहादुर गुरुङले आफ्ना पिताले परिवारलाई मात्र नभई समाजलाई नै संस्कार दिएर जानुभएको बताए।

उहाँ सबै क्षेत्रमा प्रेरणाको श्रोतका रुपमा रहनुभएको गुरुङले भनाई थियो।

पर्वत जिल्ला साविक आर्थरडाँडा घर भई हाल पोखरा महानगरपालिका शिवालयचोक बस्दै आउनुभएका स्व.गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवं काँग्रेस बुढाका नाममा प्रख्यात थिए।

वडा नं १४ का अध्यक्ष रुद्रमोहन रिमालले तत्कालीन समयमा स्व. गुरुङ नेपाली काँग्रेसको मियोको रुपमा रहेको स्मरण गरे।

उहाँको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको रिमालले चिन्ता व्यक्त गरे।

गण्डकी प्रदेशका सांसद पञ्चराम गुरुङ, पूर्व सांसद लालकाजी गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशका संचार विभाग प्रमुख एवं नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेसका उपसभापति शिव सुवेदी, क्षेत्रीय सभापति राजकुमार केसी, नगर सभापति किशोर भण्डारीलगायतले स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरे।