२६ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ।
रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको सडक महोत्सवमा स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड दिइएको छ।
रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठकलगायत सांस्कृतिक समूहको बैठकहरू संचालन गरेर तयारी तीब्र पारेको छ।
सुरक्षा परिषद् बैठकका सहभागीहरूले रेवान पोखराले आयोजना गरेको ‘पोखरा सडक महोत्सव’मा दर्शकहरुको अत्यन्तै भिड लाग्ने भएकाले सुरक्षाको विषयमा गंभीर बन्नुपर्ने औंल्याएका छन्।
उनीहरूले विगतका संस्करणहरूमा जस्तै यसपटक पनि सुरक्षा निकायबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गरेका छन्।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुणकुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फूलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेललगायतले महोत्सव सफल पार्नेबारे आ–आफ्नो धारणा राखेका थिए।
यसपटकको ‘पोखरा सडक महोत्सव’मा नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले स्वास्थ्य सेवाका लागि सहयोग उपलब्ध गराउने भएका छन्।
महोत्सवअन्तर्गत स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलले स्वास्थ्य समितिको बैठकमा बोल्दै महोत्सव उद्घाटनदेखि समापनका दिनसम्म अवलम्बन गरिनुपर्ने स्वास्थ्य रणनीतिका बारेमा प्रकाश पारेका थिए।
महोत्सव गरिने ४ किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्यको डेक्स संचालन गरी औषधि उपचारमा विशेष ध्यान दिनुपर्ने उनले बताए।
स्वास्थ्य सेवाका सवारी साधनलाई महोत्वस्थलमा सहज आवत–जावतको वातावरण तयार पारिने पौडेलको भनाई थियो।
महोत्सव संयोजक विकास भट्टराईले रेवानले आयोजना गरेको ‘पोखरा सडक महोत्सव’मा अहिलेसम्म कुनैपनि अप्रिय घटना नघटेको बताए।
यसपटक, सुरक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित पारिने उनले बताए।
स्वास्थ्य सेवा सुलभ गराउन अनुगमन समिति खटाइने भट्टराईले जनाए।
समितिका अध्यक्ष विश्वराज पौडेलले महोत्सव स्थलभित्र ‘नो भेइकल जोन’ बनाइने भएकाले सुरक्षा, स्वास्थ्य, पार्किङलगायतका विषयहरूमा आयोजकहरूले विशेष निगरानी राख्नुपर्नेमा जोड दिए।
त्यसैगरी, हेल्प डेक्स तथा हेल्थ डेक्समा क्युआर कोड, हटलाइन सेवाको व्यवस्था गरिने पौडेलले जानकारी दिए।
महोत्सवको अर्को आकर्षण सांस्कृतिक कार्यक्रम विगतको भन्दा थप आकर्षक, सभ्य, भव्य बनाउने सांस्कृतिक उपसमितिको तयारी रहेको छ।
विगतको भन्दा केहि पृथक स्वाद दिन समुहले फरक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने सांस्कृतिक संयोजक चौबहादुर गुरुङले बताए।
रेवान पोखराका महासचिव विरेन्द्र शेरचनले बैठकहरु संचालन गर्दै ‘पोखरा सडक महोत्सव’ रेवानले आयोजना गरेपनि समग्रमा यो पोखराकै पहिचान भएकाले यसलाई सफल पार्न पोखरेली एकताको खाँचो रहेको औंल्याए।