लेखनाथ महोत्सवलाई सफल पार्न आमा तथा महिला समुहको साथ

महोत्सवमा महिलाहरुको सकृय सहभागिताका कारण झाँकी र्‍याली, रत्यौलीलगायतका कार्यक्रमहरु सफल बनेका छन्

जनसम्मत
मंसिर २९, २०८१, शनिबार

२० औँ संस्करणको लेखनाथ महोत्सव’ लाई सफल बनाउन लेखनाथका विभिन्न आमा÷महिला समुहहरुले सघाउने भएका छन्।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्म महोत्सव हुँदैछ।

महोत्सवलाई सफल बनाउने विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभिन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सकृयतापूर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीबारे जानकारी दिएका थिए।

श्रेष्ठको दाबी थियो, ‘यहाँका विभिन्न संघसंस्था र आमा तथा दिदी बहिनीहरुको समुहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव, महोत्सवहरुको पनि महोत्सव बन्न सफल भएको छ।’

उनले महोत्सवमा महिला/आमा समुहको सहभागिता रत्यौेली र नाचगान कार्यक्रमहरुमा मात्र नभई संघले विभिन्न तालिमहरुको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको वताए।

यसैगरी, महिला/आमा समुह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालले महिलाहरुको सकृय सहभागिताका कारण झाँकी, र्‍याली, रत्यौलीलगायतका कार्यक्रमहरु सफल भएको बताइन्।

यस पटक पनि विगतमा जस्तै आमा तथा महिला समूहहरुको सकृय सहभागिता र सहयोगको अपेक्षा रहेको संयोजक दाहालको भनाई थियो।

रत्यौली कार्यक्रम उप–समितिकी संयोजक गंगा मल्लले रत्यौली कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जगेर्ना गर्ने बताइन्।

उनले विगतमा भएका कमी, कमजोरीहरुलाई सुधार गर्दै यसपालिको रत्यौली कार्यक्रमलाई थप परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्‍याली, व्यवस्थापन उप समितिकी संयोजक बुद्धिकुमारी मगर, हाजिरीजवाफ प्रतियोगिताकी संयोजक प्रभाकुमारी पौडेल, ग्रामिण रैथाने प्रविधि व्यवस्थापन उप–समितिकी संयोजक पार्वती थापालगायतले महोत्सव सफल पार्ने उपायबारे आफ्नो धारणा राखेका थिए।

महिला/आमा समुह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–संयोजक अञ्जली पण्डितले धन्यवाद ज्ञापन गरेकी थिइन्।

संघकी महासचिव जानुका पराजुली अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन्।