गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन्।
मन्त्रालयको सभाहलमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपंक्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानूनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धीहरु सार्वजनिक गरेकी हुन्।
मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सोअनुसार कार्य गर्दै आएको उल्लेख गरिन्।
मन्त्री श्रेष्ठको भनाई थियो, ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ। विनियोजित बजेटलाई सही ढंगले कार्यान्वयन गर्नु नै अहिलेको जिम्मेवारी हो।
कृषकलाई आवश्यक कतिपय शीर्षकहरुको बजेटमा नसमेटिदा कठिनाई पनि भएको छ। यसलाई आगामी बजेटमा समावेश गर्नेगरी तयारी सुरु गरेका छौँ।’
मन्त्री श्रेष्ठले मन्त्रालय मातहत प्रदेशमा रहेका कार्यालयहरुको अनुगमन गरेको जनाइन्।
सेवाग्राहीलाई छिटो छरितो एवं सहज सेवा प्रदान गर्न आवश्यक निर्देशन दिएको उनले बताइन्।
विभिन्न जिल्लाका कृषकहरुसँग कृषि क्षेत्रका समस्याबारे गहन छलफल भएको उल्लेख गरिन्।
उनले कृषि क्षेत्रका समस्या समाधानका लागि पहल भइरहेको सुनाइन्।