फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले दोस्रो जीत निकालेको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाण्डौले लुम्बिनी लायन्सलाई १८ रनले हरायो।
काठमाण्डौले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट बन्यो।
लुम्बिनीका सन्दीप जोराले सर्बाधिक २६ रन बनाए।
काठमाण्डौका कप्तान करण केसीले ४ विकेट लिए।
त्यसैगरी, दिपेश कँडेलले ३ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर २ बलमा १०३ रनमा अलआउट बन्यो।
काठमाण्डौका भीम सार्कीले सर्बाधिक ३१ रन बनाए।
यस्तै, डन डथवेटले २१ रन जोडे।
प्रतीक श्रेष्ठले २० रन थपे।
लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए।
यस्तै अविशेष गौतम र रामोन सिमोन्डले समान २/२ विकेट लिए।
त्यसैगरी, सूर्य तामाङ र विवेक यादवले समान १/१ विकेट लिए।
यो जीतसँगै काठमाण्डौले ४ खेलबाट ४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
काठमाण्डौको ‘प्लेअफ’ पुग्ने संभावना कायमै छ।
लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएको छ।
लुम्बिनीले ६ खेलबाट जम्मा २ अंक जोडेको छ।