डा विष्ट, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष

डा विष्टले लिए पद तथा गोपनीयताको सपथ

जनसम्मत
पौष २, २०८१, मंगलवार

डा. महेन्द्र विष्ट सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष बनेका छन्।

साथै डा. विष्टले पद तथा गोपनीयताको सपथ लिएका छन्।

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विष्टलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

गत शुक्रवारको मन्त्रिपरिषद्को बैठकले डा. विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघि, डा विष्ट नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए।

नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो।

उक्त ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा विष्ट नियुक्ति भएका हुन्।

नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको गौरवशाली इतिहासलाई संरक्षण र प्रवद्र्धन गरिने प्रतिबद्धता जनाए।

सार्वजनिक सेवा प्रसारणको मूल ध्येयलाई स्थापित गर्ने उनको प्रतिबद्धता थियो।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रसारणको मर्मअनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रीत गर्न आवश्यक रहेको औंल्याए।

उनले सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गरे।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा आउने चुनौतीको सामना गरिने बताए।

सबैले आ–आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गर्न पनि आग्रहसमेत गरे।

सो अवसरमा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन एकबद्ध भई लाग्न तयार रहेको उल्लेख गरे।

यस्तै नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले ऐतिहासिक प्रसारण संस्थाहरूलाई संयुक्त रुपमा एक बनाई यसको प्रसारणलाई सार्वजनिक प्रसारणका रुपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको औंल्याए।

४ वर्षअघि राष्ट्रियसभामा दर्ता भएको विधेयकलाई गत भदौको २५ गते प्रतिनिधिसभाले पारित गरेको थियो।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको प्रतिवेदनका आधारमा प्रतिनिधिसभाले विधेयक पारित गरेको थियो।