एनपीएल क्रिकेटमा चितवन राइनोजले जनकपुरलाई हरायो

जनकपुरलाई ३२ रनले हराउँदै चितवनको पनि ‘प्ले–अफ’ संभावना बलियो

जनसम्मत
मंसिर २९, २०८१, शनिबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएको छ।

काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको दोस्रो खेलमा चितवनले जनकपुरलाई ३२ रनले हराएको हो।

चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा अलआउट भयो।

जनकपुरका जिमी नीशमले सर्बाधिक ६५ रन बनाए।

ओपनर आशिफ शेखले २३ रन जोडे।

चितवनका शोयल तनभीर, कप्तान कुशल मल्ल र रजिन ढकालले समान २/२ विकेट लिए।

यस्तै, अमर रौटेलाले १ विकेट लिए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो।

चितवनका कप्तान कुशल मल्लले सर्बाधिक ७२ रन बनाए।

यस्तै, रवि भोपाराले ४४ रन जोडे।

जनकपुरका ललित राजवंशीले २ विकेट लिए।

यसैगरी, हर्ष थाकर, मोहम्मद मोसिन र जिमी निशमले समान १/१ विकेट लिए।

योे जीतसँगै चितवन राइनोजको ‘प्ले–अफ’मा पुग्ने संभावना बलियो बनेर आएको छ।

चितवन ७ खेलबाट ८ अंकसहित तेश्रो स्थानमा उक्लिएको छ।

‘प्ले–अफ’ मा पुग्ने संभावना बलियो बनाएको काठमाण्डौ ६ अंकसहित तालिकाको पाँचौं स्थानमा छ।

त्यसैगरी, सुदूरपश्चिम ५ खेलबाट ८ अंकसहित दोश्रो स्थानमा छ।

कर्णाली ६ खेलबाट ८ अंकसहित तालिकाको चौंथो स्थानमा छ।

चितवनको जीतसँगै पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन्।

जनकपुर बोल्ट्स एक खेलअगावै क्वालिफायरमा पुगिसकेको छ।