कास्कीको मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ को सहयोग मिलेको छ।
सो गाउँपालिकाका विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले लत्ताकपडा सहयोग गरेको हो।
गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका–७ को बालपदम र मादी–६ को शिवशक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वीटर सहयोग गरेको हो।
उक्त समाग्री विद्यालय व्यस्थापन समितिका अध्यक्ष बोधराज बराल र प्रध्यानाध्यापक कलाधर सापकोटा र पदम सापकोटालाई ‘द ट्रान्सिट रिसोर्ट’ का संचालक नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले संयुक्त रुपमा हस्तान्तरण गरे।
विद्यालय परिवारले सहयोगदाताप्रति आभार प्रकट गर्दै आगामी दिनमासमेत समाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेको थियो।
मादी गाउँपालिका–३ ज्याम्दु (ताङतिङ जाने रुट) मा नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले ‘द ट्रान्जिट रिसोर्ट’ संचालन गर्दै आएका छन्।
उक्त रिसोर्ट क्याम्पिङका लागि लोकप्रिय छ।
व्यवसायीक लाभसँगै सामाजिक कार्य गर्ने उद्देश्यसहित ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ को संचालक टिमले सहयोगको अभियान चलाएको युवा व्यवसायी नर गुरुङ बताए।
गुरुङले भने, ‘हामीले व्यावसायीक लाभ मात्रै होइन। समाजिक क्रियाकलापमा पनि प्रत्यक्ष सहयोग र योगदान गर्ने भनेर नै यो अभियान चलाएका हौं ।’
उनका अनुसार पहिलो चरणमा मादी गाउँपालिका–७ को श्री बालपदम र मादी–६ को श्री शिवशक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वीटर प्रदान गरिएको हो।
अब अर्काे चरणमा बाँकी अन्य विद्यालयमा सहयोग गर्ने योजना रहेको उनले बताए।