पर्वतको महाशिला गाउँपालिकामा सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा

एम्बुलेन्स सेवाले गाउँपालिकाको ‘जिरो होम डेलिभरी’ अभियानलाई साकार बनाउने विश्वास

जनसम्मत
भाद्र ३, २०८१, सोमबार

पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ।

समयमै उपचार नपाएका कारण नागरिकले अकालमै ज्यान गुमाउन नपरोस भनेर ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुषालले बताए।

गाउँपालिकाले आम नागरिकलाई अनुभुति हुनेगरी निःशुल्क एम्बुलेन्स सेवा अघि सारेको उल्लेख उनले गरे।

उनले भने, ‘एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन। अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनैपनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले गाउँपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको छ।’

गाउँपालिकाले सुत्केरी महिलालाई अस्पतालबाट घरसम्म र सुत्केरी हुने महिलालाई अस्पतालसम्म लग्न निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिए।

‘घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेका धेरै घटनाहरु छन्। स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने सन्देश दिनपनि एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो’, पराजुलीले भने।

यस सेवाले गाउँपालिकाको ‘जिरो होम डेलिभरी’ अभियानलाई साकार बनाउनसमेत सहयोग पुग्ने उनले बताए।

एम्बुलेन्स सेवा भरपर्दो र ब्यवस्थित तवरले संचालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले बताए।

साथै, ६ वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ।