पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) र काठमाडौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्टबीच आज (मंगलबार) एक समझदारी–पत्रमा हस्ताक्षर भएको छ।
संस्थागत विकास प्रक्रियालाई प्रवर्द्धन गर्न शैक्षिक, अनुसन्धान र व्यवसायिक गतिविधिहरुमा सहकार्य गर्नका लागि एनटीएचएमसी र काठमाडौँ विश्वविद्यालयकाबीच समझदारी भएको हो।
साझेदारी कार्यक्रममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालीखे र प्राचार्य प्रकाश रेग्मी र काठमाडौं विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्टको तर्फबाट डिन प्रो. डा. बिजय केसीले हस्ताक्षर गरेका छन्।
सहकार्यको मुख्य उद्देश्य एक अर्को संस्थाको संस्थागत शक्ति, अनुभव र स्रोतहरुको प्रयोग गरी व्यवसायिक व्यवस्थापन स्रोत र अभ्यासहरुको विकास र उपयोगमा योगदान गर्न साझेदारी ढाँचा स्थापना गर्नु रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मीले जनाएका छन्।
प्राचार्य रेग्मीका अनुसार यस सहकार्यको मुख्य दायराहरुमा दुवै संस्थाबीच एक–अर्काको शैक्षिक र व्यवसायिक कार्यक्रमहरुमा शिक्षण, तालिम, अनुसन्धान, परामर्श र अन्य व्यवसायिक उद्देश्यहरुको उपलब्धता र आवश्यकताहरुको आधारमा संकाय आदान–प्रदान गरिनेछ।
यसैगरी, कार्यक्रमहरु, अन्वेषण र कार्यान्वयन गर्न सक्रिय रुपमा सहकार्य गर्ने, संयुक्त अनुसन्धान र परामर्श कार्यक्रम गर्ने, संयुक्त व्यवस्थापन, विकास र कार्यकारी शिक्षा कार्यक्रम र दुवै संस्थाहरुले ज्ञानको विकास र प्रसार गर्न संयुक्त शैक्षिक, नीति र व्यवसायिक सम्मेलन, सेमिनार, वैठक र वकालत कार्यक्रमहरु अन्वेषण र कार्यान्वयन गर्न सकृय रुपमा सहकार्य गर्नेलगायतका समझदारी भएका छन्।