आधुनिक पोखराको शिक्षाका धरोहर जोर्ज जोन सर पहिलो पटक २०१३ को जेठ महिनामा काठमाण्डौदेखि हवाई जहाजबाट पोखरा आएका थिए ।
त्यति बेला दोस्रो विश्व युद्धमा प्रयोग भएको जहाजहरु नेपालमा चल्ने गरेको जोर्ज जोन सर सम्झन्छन् । उनी आफू पनि त्यही हवाई जहाजबाट पोखरा आएको बताउँछन् ।
त्यतिबेला, जहाज भाडा आइसी ५० रुपैयाँ थियो । भारतीय मुद्रामा मात्रै जहाज चढ्न पाइन्थ्यो । त्यतिबेला नेपालको एक रुपैयाँको भारतीय मुद्राको विनिमय दर १ रुपैयाँ २८ पैसा थियो । आइसी ५० रुपैयाँको नेपाल विनिमय दर ६४ रुपैयाँ हुन्थ्यो । त्यतिबेला, काठमाण्डौंं–पोखराको हवाई जहाज भाडा दर ६४ रुपैयाँ थियो ।
जोर्ज जोन सरका अनुसार त्यतिबेलाको जहाजले मान्छे र मालसामान दुबै बोक्ने गर्दथ्यो । जहाजको दुवै साइडमा काठका बेञ्चहरु हुन्थे । यात्रुका लागि मात्रै बेञ्चहरु प्रयोग गरिन्थ्यो । माल सामानहरु बोक्नुपर्दा भने ति बेञ्चलाई तल झारेर माल सामान कोचिन्थ्यो ।
एलेक्जेण्डर धर्म गुरुको साथी बनेर जोर्ज जोन सर पहिलो पटक पोखरा आएका थिए । एलेक्जेडर, सैनिक अस्पतालको निम्तोमा पोखरा आएका थिए । अहिलेको बगर टुंडिखेलस्थित राष्ट्रिय उच्चमावि भएको ठाउँमा त्यतिबेलाको मल्टी पर्र्पस नेशनल हाई स्कूल थियो । हाई स्कूलको नजिकै सैनिक हस्पिटल थियो । हस्पिटलको निम्तोमा हस्पिटलकै एउटा कुनै कार्यक्रममा सहभागी हुन एजेक्जेण्डर पोखरा आएका थिए ।
‘त्यतिबेला, पोखराको एअरपोर्टमा केही थिएन,’ जोर्ज जोन सर सम्झन्छन्, ‘एअरपोर्ट घाँसे मैदान थियो । एअरपोर्टमा रन–वे, तारजाली केही थिएन । घाँसमा नै जहाज ल्याण्ड हुन्थ्यो । एअरपोर्टमा डिंगाहरु चर्थे । बेगनास तालमाथि हुँदै हवाई जहाज आउँथ्यो । जहाज कराएको देखेर डिंगाहरु भाग्थ्यो, जहाज घाँसे मैदानमै ल्याण्ड गथ्र्यो ।’
जहाजबाट पोखराको एअरपोर्ट झरेपछि जोर्ज जोन सर र साथी एलेक्जेण्डर अहिलेको चोर साँघुबाट बाँसको पुल तरेर बगरको टुंडिखेलतर्फ लागे । जोर्ज जोन सरले सम्झिए, ‘चोरसाँघुबाट अमरसिंहचोक हुँदै रानीपौवा पुगियो । रानीपौवाबाट तल झरेर काठ र बाँसले बनाएको साँघु मुखको पुल तरेर अहिलेको महेन्द्रपुल पुग्यौं । महेन्द्रपुलबाट ढुङ्गै ढुङ्गा ओछ्याएको बाटबाटै पालिखेचोक, नदिपुर, बगर हुँदै टुंडिखेल पुगियो ।’
त्यतिबेला, जोर्ज जोन सर र उनका साथी एलेक्जेण्डर एक दिन मात्रै पोखरा बसेर हवाई जहाजबाटै काठमाण्डौ फर्किएका थिए ।
२०१७ सालको भदौ १६ गते जोर्ज जोन सर पुनः दोस्रो पटक पोखरा आए । पोखरामा एउटा क्याम्पस संचालन गर्ने उद्देश्यले उनी दोस्रो पटक यहाँ आएका थिए । आफैसँग बीएको अंग्रेजी विषयमा ट्युसन पढेका बिमल थापाको आग्रहमा उनी पोखरा आएको बताउँछन् । बिमल प्राइभेट परीक्षा दिन काठमाण्डौं गएका थिए । त्यतिबेलाको सोल्जर बोर्ड हाइस्कूल (अहिलेको अमरसिंह हाइस्कुल)का शिक्षक थिए बिमल ।
तीन महिना जोर्ज जोन सरसँग बिमलले अंग्रेजीको ट्युसन पढे । ट्युसन पढ्ने क्रममा बिमलले दिनदिनै जोर्ज जोन सरलाई पोखरा गएर कलेज खोल्ने कुरा राख्थे । पोखरा आउने मन नहुँदानहुँदै पनि एक दिन ‘लौ हुन्छ तनी’ भनेर जोर्ज जोन सरले बिमललाई पोखरा जाने आश्वासन दिए ।
काठमाण्डौंबाट पोखरा फर्किएको एक हप्ताभित्रै बिमलले जोर्ज जोन सरका लागि भनेर नियुक्तिपत्र, हवाई जहाज भाडा र पेश्की स्वरुप ९० रुपैयासहित काठमाण्डौं पठाइदिए ।
त्यतिबेला, पोखराको अमरसिंहमा सोल्जर बोर्ड हाइस्कुल र बगर टुंडिखेलमा मल्टी पर्पस नेशनल स्कूल (हालको राष्ट्रिय मावि) मात्रै दुर्ई वटा हाइस्कूल थियो । ति हाइस्कूलहरुमा दश कक्षासम्म मात्रै पढाई हुन्थ्यो । त्यहाँ भन्दामाथि पढ्न चाहनेहरुका लागि जो आर्थिक अवस्थामा मजबुत थिए, ति काठमाण्डौं गएर पढ्थे । कोही संस्कृत विधाका लागि बनारस गएर पढ्थे ।
जोर्ज जोन सर सुनाउँछन्, ‘जो दश कक्षा उत्तीर्णपछि माथिको कक्षा पढ्न चाहन्थे । जसको आर्थिक अवस्था कमजोर थियो । उनीहरु दश कक्षा भन्दामाथि पढ्न चाहेर पनि पढ्न सक्दैनथे । त्यस्ता विद्यार्थीहरुका लागि पोखरामै एउटा राम्रो क्याम्पस खोल्ने प्रयास भइरहेको थियो । त्यही उद्देश्य र योजनाका लागि म पोखरा आएको थिएँ ।’
०१७ मा जोर्ज जोन सर दोस्रो पटक काठमाण्डौंदेखि पोखरा आउँदा जहाज भाडादर उही आइसी ५० रुपैयाँ नै थियो । त्यतिबेला पनि पोखरा एअरपोर्टमा झरेपछि उही चोरसाँघुको बाँसको पुल तरेर अमरसिंह, माटेपानी, रानीपौवा, महेन्द्रपुलको नालामुख काठे पुल तरेर पालिखेचोक, नदिपुर हुँदै हिँडेरै बगर पुगेका थिए ।
त्यो बेलामा क्याम्पस खोल्न २५ हजार रुपैयाँ लाग्थ्यो । जोर्ज जोन सर पोखरा आउँदा १७ हजार मात्रै रकम संकलन गरिएको थियो । उनले भने, ‘त्यही पनि कबुलियतनामा बाट मात्रै, नगद होइन ।’
तत्कालीन पोखरालाई पश्चिम ३ नं भनिन्थ्यो । त्यतिबेला पश्चिम ३ नं को प्रशासन हेर्ने काम बडा हाकिमले गथ्र्यो । बडा हाकिमकै रोहबरमा पोखरामा क्याम्पस खोल्ने समितिसमेत गठन गरेको थियो ।
जसलाई जोर्ज जोन सरले ट्युसन पढाएका थिए, तिनै विद्यार्थी बिमलका दाज्यू शिवबहादुर थापा नै त्यस समितिका अध्यक्ष थिए । त्यतिबेला, पोखरामा बीए पास गर्ने चार जनामध्ये शिवबहादुर एक थिए ।
पोखरा आएकै भोलिपल्टदेखि नदिपुरस्थित कन्या मन्दिरमा पीएन क्याम्पस स्थापना गरेर कक्षा संचालन गरेर जोर्ज जोन सरले पढाउन थालेको जोर्ज जोन सर सम्झन्छन् । १३ जना विद्यार्थीसहित उनले अंग्रेजी, राजनीतिशास्त्र र अर्थशास्त्र विषयको तीनवटा कक्षा लिए ।
कन्या मन्दिरमा ४ कक्षासम्म मात्रै पढाई हुन्थ्यो । छात्राहरुको लागि मात्रै पढाइने उक्त मन्दिरमा क्याम्पस संचालन गर्दा स्थानीय धैरैमा उत्सुकता थियो । छात्राहरु मात्रै पढ्ने स्कुलमा क्याम्पस संचालन गर्दा केहीले अर्कै आँखाले समेत हेरे । त्यतिबेला देशमा काँग्रेसको सरकार पनि बनिसकेको थियो । तत्कालीन गृहमन्त्री पहिलो पटक पोखरा आउने कार्यक्रम थियो । गृहमन्त्रीको पोखरा आगमनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
‘०१७ मा नेपाली काँग्रेसको सरकार थियो,’ जोर्ज जोन सर भन्छन्, ‘पहिलो पटक तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पोखरा आउने कार्यक्रम थियो । त्यसका लागि पनि सुरक्षा कडा पारिएको थियो ।’
कन्या मन्दिरमा केही समय कक्षा चलाएर पछि पीएन क्याम्पसलाई नारायणस्थानको पौवामा क्याम्पसको कक्षा संचालन गरियो । ०१७ मंसीरको १७ गते त्यही पौवाबाट पीएन क्याम्पसको विधिवत उद्घाटन गरियो ।
‘त्यतिबेला, पौवाको कक्षा कोठालाई बाँसको चित्राले बारेर पढाइयो,’ जोर्ज जोन सरले सम्झिए, ‘कुर्ची, टेबुल केही थिएन, विद्यार्थीहरु आफैले घरबाट बोरा, गुन्द्रीहरु बोकेर ल्याउँथे, भुइँमै ओछ्याएर पढ्थे ।’
नारायणस्थानको उक्त पौवाबाट पुनः क्याम्पसलाई नदिपुरकै कन्या मन्दिरमा सारियो । कन्या मन्दिरको स्कुलमै केही समय कक्षा संचालन गरियो । २०१८ को माघदेखि भीमकाली पाटन बगरमा हालको पीएन क्याम्पसको लागि छाप्रो निर्माण कार्य शुरु गरियो । २०१९ को वैशाख १ गतेदेखि भीमकाली पाटन बगरमै खरले छाएको छाप्रो निर्माण भयो र त्यही छाप्रोबाटै क्याम्पसका कक्षाहरु संचालन गरियो ।
‘त्यतिबेला पनि बाँसका चित्राहरुले बारेर क्याम्पसका कक्षा कोठाहरु बनाइएको थियो,’ जोर्ज जोन सरले भने, ‘विद्यार्थीहरुले घरबाटै बोरा र गुन्द्रीहरु ल्याएर भुइँमै ओछ्यार पढ्ने गर्थे ।’ त्यो बेला, पोखराको मुख्य बजार भनेकै अहिलेको माटेपानीदेखि रानीपौवा, महेन्द्रपुल, पालिखेचोक, रामकृष्ण टोल थियो । बजारका घरहरु दोहोरै हुन्थे । प्राय खरले छाएका घरहरु हुन्थे । घरका अगाडि पसलहरु हुन्थे ।’
त्यतिबेला, महेन्द्र पुलको बजारमा बाँसका चित्राहरुले बुनेका थोरै संख्यामा थकालीका होटलहरु थिए । जहाँ, भात खानका लागि चामल दिनुपथ्र्यो, तरकारीको पैसा तिर्नुपथ्र्यो । २५ देखि ५० पैसासम्म हेरी हेरी मासु खाएको तिर्नुपथ्र्यो । १५ देखि २५ पैसासम्म सागसब्जीको तरकारी खाएको पैसा तिर्नुपथ्र्यो ।
जोर्ज जोन सर, त्यस बेलाको पोखरालाई यसरी सम्झन्छन् ।
तस्वीर :
बिक्रम संवत् २०१७/०१८ मा पोखरा–१, बगरस्थित पृथ्वीनारायण क्याम्पस । पृथ्वीनारायण क्याम्पसको करिब ५८ वर्ष पुरानो तस्वीर दिपकजंग थापाको फेसबुकबाट साभार गरिएको हो । विदेशी नागरिक DOUG BINGHAM ले तस्वीर खिचेका हुन् ।