गण्डकी प्रदेश सभामा सुनिता थापाले शपथ लिइन्

सुनिता, अपांगता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा थिइन्

जनसम्मत
मंसिर २८, २०८१, शुक्रबार

गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

सभामुख कृष्णप्रसाद धितालले आज (शुक्रबार) थापालाई शपथ गराएका हुन्।

यसअघि, गत कार्तिक २८ गते विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा थापा निर्वाचित भएकी हुन्।

२०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित गौचनको निधन भएपछि रिक्त पदमा थापालाई नेपाली काँग्रेसले मनोतीत गरेको थियो।

सुनिता अपांगता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा थिइन्।

नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम संख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रमसंख्या ५ मा नाम रहेकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको हो।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत सोमबार बसेको बैठकले रिक्त भएको उक्त पदमा थापालाई मनोनीत गर्ने निर्णय गरेको थियो।

थापा, श्रवणशक्ति नभएका कारण सुन्न नसक्ने अपांगता भएकी व्यक्ति हुन्।